Logo

भन्सार राजस्वको लक्ष्य पुगेन

वीरगन्ज भन्सार कार्यालयले ७ महिनाको अवधिमा ९२ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो ।

नेपाली अर्थतन्त्रमा मुख्य हिस्सा मानिएको प्रमुख प्रवेशद्वारका भन्सार कार्यालयहरूको राजस्व संकलन लगातार ओरालो लागेको छ । मुख्य नाकामा रहेको वीरगन्ज भन्सार, एकीकृत भन्सार जाँचचौकी (आईसीपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली ओरालो लाग्दा लक्ष्य भेट्टाउन सकेको छैन ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार कार्यालयले माघमा लक्ष्यको ७७ दशमलव ६९ प्रतिशत मात्र अर्थात १० अर्ब ६६ करोड मात्र असुली गरेको छ । वीरगन्ज भन्सार कार्यालयले माघमा १३ अर्ब ७२ करोड रूपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको तेस्रो महिनादेखि नै लक्ष्यभन्दा कम भन्सार राजस्व असुली गरेको वीरगन्ज भन्सार कार्यालयले पछिल्लो राजस्व असुली घट्नुमा कोलकाताका कष्टम हाउस एजेन्टहरूको एक साता लामो हड्ताल प्रमुख कारण रहेको जनाएको छ । अहिले सवारी साधनको आयात पनि घट्न गएकाले त्यसको प्रत्यक्ष असर परेको भन्सार कार्यालयले जनाएको छ ।
साना सवारी साधन जिप, कार, भ्यान मात्र नभई मोटरसाइकलको आयात पनि घटेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले बताए । वीरगन्ज भन्सार कार्यालयले ७ महिनाको अवधिमा ९२ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो । माघ महिनामा भने ९५ दशमलव ४७ प्रतिशत सफलता पाएको छ । यस अवधिमा भन्सार कार्यालयले ८८ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै सिर्सिया सुक्खा बन्दरगाह भन्सारले माघमा २ अर्ब ८८ करोड २९ लाख ५६ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा २ अर्ब ४६ करोड २९ लाख ३७ हजार राजस्व संकलन भएको छ । यो लक्ष्यको ८५ दशमलव ४३ प्रतिशत हो । यो भन्सारले राजस्व असुली लक्ष्य नभेट्टाउनुको मुख्य कारण कोलकातामा कष्टम हाउस एजेन्टहरूले गरेको हड्तालनै रहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए  । यो भन्सारले कात्तिकयता मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन ।
कार्यालयको वार्षिक राजस्व असुली लक्ष्य भने उत्साहजनक नै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार प्रमुखको दाबी छ । माघसम्ममा यो भन्सारले १९ अर्ब ५० करोड राजस्व असुली गर्ने लक्ष्य राखेकोमा १८ अर्ब ६३ करोड असुल गर्न सफल भएको उनले बताए । लक्ष्यगत हिसाबले ९५ दशमलव ५२ प्रतिशत सफलता मिलेको र समग्रमा ९५ प्रतिशतभन्दा माथि अपेक्षित मानक नै मानिएकाले पनि निराशाजनक अवस्था भने नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
अहिले मुख्य रूपमा कोलकातामा भएको अवरोध नै राजस्व कम असुली भएको कारण मानिए पनि यस अघिदेखि नै वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन भने कम हुँदै आएको छ । वीरगन्ज भन्सार कार्यालयमा दसैं, तिहार, छठलगायतका पर्व सकिएपछि आयातमा कमी हुँदा भन्सार राजस्व संकलनमा कमी आएको प्रमुख भन्सार प्रशासक श्याम भण्डारीको भनाइ छ । मधेस आन्दोलनका समयमा आयातकर्ताले नाका परिवर्तन गरेदेखि नै वीरगन्ज भन्सारबाट आयातमा कमी हुँदा राजस्व संकलनमा पनि कमी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्