व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिने गृहमन्त्रीको भनाइ

गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखापरेको र ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए ।
उनले माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रूपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह गरे । मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए । उनले भने, ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ । र उद्योगी, व्यवसायीहरूको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ । र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरूलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइनकी सहयोग गर्नुपर्छ ।’
उनले राष्ट्रिय राजनीतिक मूलधारमा नआएका पार्टीहरूसँग संवाद र छलफलगरी राजनीतिक मूलधारमा ल्याउने काम भइरहेको उनले जानकारी दिए । गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजीकरणको दिशामा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।