नेपालले उठाउन सकेन ‘एसियन हाइवे’को फाइदा

झापा-एसियाली राजमार्गसँग पूर्वी नेपालको काँकडभिट्टा जोडिएको एक वर्ष बितिसकेको छ । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर व्यापार, व्यवसाय गर्न पाउने अवधारणा अन्तर्गत एसियन हाइवेको पहुँच नेपालमा जोडिएको हो । तर नेपालले यसबाट फाइदा लिन सकेको छैन ।
नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच पुगेको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको सो पुलको लम्बाइ ७ सय ९० मिटर रहेको छ । पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण भएको छ । एसियन हाइवेको रुट–२ अन्तर्गत थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टा जोडिएको हो ।
एसियन हाइवेको निर्माणसँगै पूर्वमा व्यापार विस्तार र प्रवद्र्धन हुने विश्वास व्यवसायीले गरेका थिए । भारत साथ बंगलादेश र भुटान पनि नजिकका व्यापारिक साझेदार भएकाले सडक सञ्जालले व्यवसाय क्षेत्रमा खुशी ल्याएको थियो । तर, कोरोना महामारीको कारण लामो समयसम्म पूर्वी नाका बन्द हुँदा भने व्यवसायीको आशा निरासामा परिणत भएको छ ।
पूर्वी नेपाल एसियन हाइवेमा जोडिएसँगै व्यवसायीले पनि अन्तर्राष्ट्रिय बजारको सम्भावना देखेका थिए । तर, नेपालतर्फ सडक विस्तारमा हुने ढिलासुस्तीले व्यवसायीको आशा निरासामा परिणत भएको उद्योग वाणिज्य संघ प्रदेश–१का उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । “एसियन हाइवेका कारण पूर्वी नाका काँकडभिट्टाबाट हाम्रा कृषि उपज सहजै अन्तर्राष्ट्रिय बजारमा पुग्ने विश्वास हाम्रो थियो । तर, लामो समयसम्म नाका बन्द हुँदा र नेपालका अन्य सडकको अवस्था जिर्ण रहेकाले व्यवसायी साथै कृषकले फाइदा उठाउन सकेका छैनन्,” उनले भने ।
हाइवे पूर्वदेखि पश्चिम नेपालसम्म जोडिँदा देशका हरेक क्षेत्रमा फाइदा हुने उनको भनाई छ । “एकातर्फ नेपालका बाटा साना छन् अर्कोतर्फ पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । जसले ढुवानी खर्च अत्याधिक बढेर गएको छ,” राउतले भने । बनेका बाटा पनि गुणस्तरीय नहुँदा व्यवसायीले हैरानी खेप्नुपरेको उनी सुनाउँछन् । “गतवर्ष मात्र रानी भन्सारदेखि इटहरीसम्म बनेको चारलेनको बाटोमा खाल्डा बन्न थालिसकेको छ,” राउत भन्छन्, “सडक विभागले एसियन हाइवे विस्तार गर्दा मापदण्ड पुरा गरेर मात्र काम गरोस् ।”
सडक सञ्जाल फराकिलो हुँदा सीमावर्ती नाका चलायमान हुन्छ भन्ने विश्वास थियो मेची उद्योग वाणिज्य संघका सचिव रवी नेपाललाई । तर, कोरोना महामारीसँगै बन्द भएको सीमानाका अहिलेसम्म सञ्चालनमा आउन नसक्दा एसियन आइवेको महत्व नै घटेको उन तर्क छ । “नेपाल सरकारले भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेन,” नेपाल भन्छन्, “जसकारण देशका अन्य नाका खुलेपनि पूर्वी नाका काँकडभिट्टा खुलेको छैन ।” सरकारले नाका खुलेको निर्णय गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।
नाका पूर्णरुपमा सञ्चालनमा नआउँदा भारत हुँदै तेस्रो मुलुक पुग्ने नेपाली कृषि उपजले बजार नपाएको उनको गुनासो छ । “एसियन हाइवे त आयो तर, नाका बन्द हुँदा हामी व्यवसायीले फाइदा लिन पाएका छैनौँ,” नेपालले भने । एसियन हाइवेको पहुँचले व्यापार प्रवद्र्धनका साथै बजारीकरणमा फाइदा पुग्ने विश्वास लिएका व्यवसायी लामोसमयसम्म नाका बन्द हुँदा विराटनगर, विरगञ्जलाई व्यापारीक केन्द्रका रुपमा प्रयोग गर्न थालिसकेका छन् । पूर्वी नाकाबाट आयात, निर्यातमा असहजता रहेकै कारण व्यवसायी पलायन हुने क्रम सुरु भएको नेपालले बताए ।
एसियन हाइवे बनेसँगै जीर्ण मेची पुल, काँकडभिट्टा क्षेत्रमा रहेको साँघुरो सडक रहर लाग्दो बनेको छ । जसले ठूला कन्टेनर आवतजावतमा कठिनाइ नहुने भएपनि हाइवे सोचे अनुरुप प्रयोगमा आउन सकेको छैन ।
पूर्वी नाका काँकडभिट्टा पर्यटकीय दृष्टिकोणले पनि विशेष मानिन्छ । जुन नाकाबाट भारत, भुटान र बंगलादेशका पर्यटक नेपाल छिर्ने गर्छन् । पश्चिम बंगालको बागडुग्रा विमानस्थलबाट काँकडभिट्टा आइपुग्न आधा घण्टा र काँकडभिट्टाबाट भद्रपुर विमानस्थल आधा घण्टाको दूरीमा रहेकाले झापा हुँदै काठमाडौँ जाने पर्यटक पनि काँकडभिट्टा नाका प्रयोग गर्छन् ।
“एसियन हाइवेको विस्तारले स्थलमार्गबाट भित्रिने पर्यटकको चाप बढ्छ भन्ने हाम्रो विश्वास थियो,” पर्यटन व्यवसायी अर्जुन कार्की भन्छन्, “महामारीको चपेटाले एसियन हाइवे हुँदै पर्यटक भित्र्न सकेका छैन ।” नाकामा भारतीय पक्षले चेकिङमा गरेको कडाइले पनि पर्यटक कम आएको उनी सुनाउँछन् ।
स्रोत सुनिश्चित नहुँदा काममा ढिलाइ
नेपालका पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छन् । पूर्व–पश्चिम राजमार्गलाई पनि चार लेनमा विस्तार गर्ने काम सुरु भइसकेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।
“पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ अन्तर्गत पर्दछ,” नेपालले भने, “काँकडभिट्टा, इटहरी हुँदै लौकहीसम्म डिपीआर, वातावरणीय अध्ययनको काम भइरहेको छ ।” अध्ययनको रिपोर्ट आएपछि लोनको प्रक्रिया अघि बढ्छ । नारायणगढ–हेटौँडा–पथलैया–कमला खण्डमा पनि काम अघि बढाइएको प्रवक्ता नेपालले बताए ।
एसियाली राजमार्गका आफ्नै मापदण्ड रहेका छन् । नेपालको पूर्व –पश्चिम राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्ने र सोही राजमार्गलाई चार लेनमा बिस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुने नेपालले जानकारी दिए । स्रोतको सुनिश्चितता नहुँदा काम कहिले सकिन्छ भन्ने यकिन नभएको नेपाल बताउँछन् ।
एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसैगरी, एसियन हाइवेको रुट–४२ अन्तर्गत पर्ने अरनिको राजमार्गको कोटेश्वर –सूर्यविनायकको काम सकिएको छ । “सूर्यविनायकदेखि धुलिखेलसम्मको स्रोत सुनिश्चित नहुँदा काममा ढिलाइ भएको छ,” नेपाल भन्छन् ।
एसियन हाइवेको रुट–४२ भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।