विपद्को मौका छोपी कालोबजारी «

विपद्को मौका छोपी कालोबजारी


बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका दुई साता बितिसक्दा पनि अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन हुन सकेको छैन ।
राजमार्ग सञ्चालनका लागि सेना परिचालन गरेर सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । एक महिनायता सडक सञ्चालनमा आउने स्थिति छैन । सडक सञ्चालनमा नआउँदा जिल्ला सदरमुकाम भित्रने र बाहिरिने सवारी साधन चल्न सकेका छैनन् ।
विपदको मौकामा जिल्लाका व्यापारीले दैनिक उपभोग्य समानमा कालोबजारी सुरु गरेका छन् । यातायात बन्द भएको फाइदा उठाउँदै व्यापारीहरूले खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको मूल्य अस्वभाविक रुपमा वृद्धि गरेका छन् । विपद्मा परेका बेला व्यापारीहरुले मूल्यवृद्धि गरेपनि नियामक निकाय मौन बसेको छ ।
व्यापारीहरुले खाना पकाउने ग्यास, चामललगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव देखाई मूल्य बढाएर बेच्न थालेका छन् । एक साता अघि प्रतिसिलिण्डर १ हजार ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको खाना पकाउने ग्यासको मूल्य बढाएर ३५ सय देखि ४ हजारसम्ममा बेच्ने गरिएको उपभोक्ताले गुनासो गरेका छन् । ग्यास सकिएर भोकै बस्नुपर्ने भएपछि भनेजति तिरेर ल्याउनु पर्ने बाध्यता रहेको जयपृथ्वी–४ का नरेन्द्र उपाध्यायले बताए । “अघिल्लो साता १ सय ४० प्रतिलिटर बिक्री हुँदै आएको पेट्रोलको मूल्य पनि १ सय ८० रुपैयाँ पुगेको छ” उनले भने, “विपद्को समयमा कृतिम अभाव गरेर कालोबजारी गर्नेलाई प्रशासनले कारबाही गर्न चासो देखाएको छैन ।”

प्रतिक्रिया दिनुहोस्