Logo

प्रदेश–१ मा नयाँ सरकार गठनका लागि दाबी पेश

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आचार्यको राजीनामा स्वीकृत गर्दै मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न दलहरुलाई आह्वान गरिएको हो । मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ ।
विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो । नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेको कारण उनको हस्ताक्षर छैन । विपक्षी गठनबन्धनले दाबी पेश गरे पनि राईको नियुक्ति भने मंगलबार १ बजेपछि मात्र हुनेछ । उनले मुख्यमन्त्रीको सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेको बताइएको छ ।
नेकपा एमालेको तत्कालीन विवादमा माधवकुमार नेपाल निकट रहे पनि केपी ओली समूहमा प्रवेश गरेपछि मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्य ६७ दिनमा पदमुक्त भएका छन् । नेकपा एमाले विभाजन भएकै दिन भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्