कांग्रेस सभापतिका लागि देउवा नै योग्य उम्मेदवार हुन् : साउद «

कांग्रेस सभापतिका लागि देउवा नै योग्य उम्मेदवार हुन् : साउद

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले आफूले पदाधिकारीमा उम्मेदवारी दिने बताएका छन् । आगामी मंसिरमा हुने चौधौं महाधिवेशनमा आफूले पदाधिकारीमै उम्मेदवारी दिने बताए । तर, कुन पदमा उम्मेदवारी दिने भन्नेबारेमा उनले खुलाएनन् । युवाहरुले केन्द्रीय सदस्यमा मात्र होइन, पदाधिकारीमा पनि स्थान खोजिरहेको उनले बताए । ‘सभापितमा चाहिँ म लड्दिनँ, त्यसबाहेक कुनै न कुनै जिम्मेवारीपूर्ण पदाधिकारीमा लड्छु,’ साउदले भने।
नेपाली कांग्रेसको आगामी सभापति पनि देउवा नै भएको साउदले बताए । ‘आकांक्षा राख्न, उम्मेदवार बन्न योग्यता हासिल गरेका सबैलाई छुट छ । अरुले पनि इच्छा राखेका छन् । युवा नेताहरुले पनि हामी नेतृत्व गर्छौं भन्नु गलत पनि होइन । तर युवाहरुलाई पदाधिकारीमा लगे पनि सभापतिको उम्मेदवार पाको र अनुभवी नै हुनुपर्छ,’ साउदले थपे ।
मातृशोकमा रहेका पूर्वसांसद तथा नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई समवेदना दिन नेता साउद सोमबार धादिङ आएका हुन् । उनी नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थिए ।

प्रतिक्रिया दिनुहोस्