विभागको जनशक्ति र पूर्वाधारले बजार नियमन गर्न कठिन छ «

विभागको जनशक्ति र पूर्वाधारले बजार नियमन गर्न कठिन छ

कतिपय वस्तुमा नियतवश पनि कैफियत भएको देखिन्छ । बोर्डरमा आएका केसहरू अलि कन्फ्युजन किसिमका हुन्छन् । आयातमा तोकिएको मापदण्डभन्दा बढी देखियो भने त्यसको गुणस्तरमा गडबडी गरेको छ भन्ने देखिन्छ ।
ट्याक्सीमा मुख्य समस्या भनेको मिटरमा नजाने हो, जसलाई सम्बोधन गर्नका लागि कानुन संशोधनको क्रममा रहेका छौं । यदि कानुन संशोधन भएर आयो भने मिटरमा ट्याक्सीले यात्रु नबोके पनि हामीले कारबाही गर्न सक्छौं ।
आयात–निर्यातका वस्तुको पनि मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हस्तकलाका सामानहरूमा समयअनुकूल मापदण्ड तयार परिमार्जन गर्ने र त्यसअनुसार बजारमा नियमन र सेवा उपलब्ध गराउने विषय चुनौती रहेको छ ।
पछिल्लो पटक मेडिकल फेस मास्क, मास्कमा गुणस्तर प्रदान गरेर इजाजत प्रदान गरेका छौं । त्यस्तै स्यानिटर प्याड व्यापक रूपमा प्रयोग गएको छ । यसमा पनि गुणस्तर प्रदान गरेका छौं । पिबिङ ब्लक, फोहोरमा ओछ्याउने ब्लकहरूमा गुणस्तर निर्धारण भइसकेपछि विभिन्न उद्योगहरूले इजाजपत्र लिइसकेका छन् ।

विभागको जनशक्ति र पूर्वाधारले बजार नियमन गर्न कठिन
विश्वबाबु पुडासैनी
महानिर्देशक
नेपाल गुणस्तर तथा नापतौल विभाग

नेपाल गुणस्तर तथा नापतौल विभागले वस्तुको मापदण्ड निर्धारण गरी गुणस्तर चिह्न प्रदान गरेर बजारलाई नियमन गर्ने काम गर्छ । तोकिएको मापदण्ड पूरा नगरी वस्तुको उत्पादन गर्ने उद्योगलाई विभागले कारबाहीसमेत गर्ने गर्छ । औद्योगिक विकाससँगै उपभोक्ताको हितका लागि कुनै पनि पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरूमा गुणस्तर प्रमाण चिह्नहरू प्रयोग गर्ने व्यवस्था चार दशक अघिदेखि सुरु भएको हो । वस्तु वा पदार्थको गुणस्तर निर्धारण कार्य २०३४ सालमा थालनी भएसँगै गुणस्तरसम्बन्धी क्रियाकलापहरूमा वैज्ञानिक, औद्योगिक र कानुनी नापतौलको पनि भूमिका रहने हुँदा यसलाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन नापतौल विभागलाई पनि गुणस्तर कार्यालयसँगै गाभेर २०४४ सालमा नेपाल गुणस्तर तथा नापतौल विभाग स्थापना गरियो ।
विभागले विभिन्न वस्तु तथा सेवाको मापदण्ड तयार गरी गुणस्तर चिह्न प्रदान गर्दै आएको छ । विश्व बजारमा उत्पादन भइरहने नयाँ–नयाँ वस्तु तथा ती वस्तुहरूको मापदण्ड तयार गरी गुणस्तर निर्धारण गर्ने विभागको मुख्य जिम्मेवारी रहेको छ । आम उपभोक्ताको स्वास्थ्य र सुरक्षासँग जोडिएको उपभोग्य वस्तुहरूको गुणस्तर कायम गर्न विभागले के–कस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ ? बजारमा वस्तुको गुणस्तर र नापतौलको अवस्था के, थप नयाँ कुन–कुन वस्तुमा गुणस्तर निर्धारण गर्दै छ ? लगायतका समग्र गुणस्तर र नापतौलसँग सम्बन्धित विषयमा केन्द्रित रहेर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग कारोबारकर्मी लक्ष्मी सापकोटाले गरेको कुराकानीको सारः
बजारमा वस्तुको गुणस्तर र नापतौलको अवस्था के छ ?
विगतमा जति पनि व्यापार गुणस्तर इजाजत प्रदान गरिएका वस्तुहरू छन्, ती वस्तुहरूको नियमित रूपमा बजारमा अनुगमन गरेर नमुना परीक्षण गर्ने कार्य गरिरहेका छौं । पछिल्लो पटक दसैंअगाडि व्यापक रूपमा निर्माण सामग्रीहरूको नमुना संकलन गरेका छौं । यसको नतिजाहरू आउने क्रममा छन् । अहिलेसम्मको अवस्था हेर्दाखेरि उद्योग व्यवसायीहरू जति पनि गुणस्तरीय वस्तुहरूको उपभोग गर्ने एउटा संस्कृतिको विकास भइरहेको छ, उद्योगी व्यवसायीले गुणस्तरीय वस्तुहरूको माध्यमबाट बजार प्रवद्र्धन गर्ने काम गरिरहेका छन् ।
समग्रमा भन्दाखेरि गुणस्तर चिह्न प्राप्त वस्तुहरू विश्वसनीय रहेको पाएका छौं । अहिलेसम्म ६७ प्रकारका वस्तुमा नेपाल गुणस्तर चिह्न प्रदान गरिएको छ । मुख्य गरेर निर्माणजन्य सामग्रीहरू पाइप, ट्याङ्की, सिट, जीआई पाइप, जीआई वायर, पीपीपी आइप, प्लाइउड, रेगुलेटरलगायतका अन्य वस्तुहरूमा गुणस्तर चिह्न प्रदान गरिएको छ ।
नियमित रूपमा प्रत्येक वर्ष नयाँ–नयाँ वस्तुको गुणस्तर निर्धारण गर्ने काम भएपछि त्यसमा इजाजतपत्र प्रदान गर्दै आएका छौं । पछिल्लो पटक मेडिकल फेस मास्क, मास्कमा गुणस्तर प्रदान गरेर इजाजत प्रदान गरेका छौं । त्यस्तै स्यानिटर प्याड व्यापक रूपमा प्रयोग गएको छ । यसमा पनि गुणस्तर प्रदान गरेका छौं ।
पिबिङ ब्लक, फोहोरमा ओछ्याउने ब्लकहरूमा गुणस्तर निर्धारण भइसकेपछि विभिन्न उद्योगहरूले इजाजपत्र लिइसकेका छन् । त्यस्तैगरी सडकमा प्रयोग हुने निर्माणजन्य सामग्रीहरूमा पनि गुणस्तर निर्धाण गरेका छौं । सौन्दर्य सामग्रीका वस्तुहरूमा पनि गुणस्तर निर्धाण गरेका छौं । औषधि व्यवस्था विभागभित्र यसको नियमनकारी भूमिका राखिएको कारणले गर्दा विभागले यी वस्तुहरूमा गुणस्तर निर्धारण मात्र गर्न सक्छौं । यसलाई विभागले नियमन गर्न सक्दैन ।
बजारमा निर्माण सामग्रीहरू छड, डन्डी, सिमेन्टको गुणस्तरमा बढी समस्या देखिने गरेको छ । कारबाही गरिए पनि पुनः समस्या दोहोरिने गरेको छ । किन बारम्बर गुणस्तरमा समस्या देखिने गर्छ ?
प्रत्येक वर्ष ४ सय वस्तुमा इजाजत प्राप्त वस्तुहरूमध्ये ५ देखि १० प्रतिशतको हाराहारीमा कैफियत पाएका छौं । यी कैफियतहरूमा पनि १ देखि २ प्रतिशत नियतवशभन्दा पनि नचाहेरै कतिपय वस्तुमा समस्या देखिएको हुन सक्छ । तर, कतिपय वस्तुमा नियतवश पनि कैफियत भएको देखिन्छ । बोर्डरमा आएका केसहरू अलि कन्फ्युजन किसिमका हुन्छन् । आयातमा तोकिएको मापदण्डभन्दा बढी देखियो भने त्यसको गुणस्तरमा गडबडी गरेको छ भन्ने देखिन्छ । पछिल्लो समय नियतवश गर्ने कैफियतहरूमा सुधार आएको छ ।
तर पनि हामीलाई परेको कठिनाइ के हो भने बजारमा नियमनको दायरा हेर्नुपर्ने उद्योगहरूको दायरा धेरै नै बढेको छ । विभागमा रहेको कम जनशक्ति र कम पूर्वाधारका कारणले गर्दा धेरै नै कठिन परेको छ । विगतमा चार–पाँचवटा सिमेन्ट उद्योग हुँदाको बेलाको यही जनशक्तिले अहिले ६५ वटा सिमेन्ट उद्योग धानिरहेका छन् । ३० वटा डन्डी उद्योग र ४० भन्दा बढी एजडीपी पाइप उद्योगहरू रहेका छन् । पछिल्लो समय उद्योगको संख्या दिनप्रतिदिन बढिरहेको छ, तर विभागमा जनशक्ति एकदम न्यून छ ।
जसको कारणले गर्दा पनि बजारमा नियमन गर्न हामीलाई धेरै समस्या परेको छ । सबै उद्योगमा जुन संख्यामा नमुना परीक्षण गर्नुपर्ने हो, त्यसमा सीमितता भएको छ । प्रत्येक वर्ष ४ सयवटा मात्र सिमेन्टको नमुना परीक्षण गर्न सक्छौं । यो भनेको एकदम न्यून हो । कम्तीमा वार्षिक रूपमा १ हजारको संख्यामा सिमेन्टमा नमुना परीक्षण गर्ने क्षमता राख्नुपर्छ ।
वस्तुको गुणस्तरलाई कसरी हेर्ने र कसरी बजार हस्तक्षेप गर्ने भन्ने एकदम जटिलता रहेको छ । बजारमा कुनै पनि किसिमको गुणस्तरमा हुन सक्ने इनकन्स्टेन्सीका लागि उद्योग, बजार नमुना संकलन कम भएकाले बढाउनुपर्ने जरुरी छ । कतिपय अवस्थामा यी कुराहरू ओझेलमा पर्ने समस्याहरू पनि बढिरहेका छन् । आगामी दिनमा विभागलाई कानुन कार्यान्वयनमा अत्यन्त कठिनाइ भोग्नुपरेको छ । यसमा समयमा विभागको पूर्वाधार र जनशक्ति व्यवस्थापन भएन भने काम गर्न धेरै नै समस्या हुन्छ ।
वस्तुको गुणस्तरमा समस्या भएको उपभोक्ताको गुनासो छ नि ?
गुणस्तरको माध्यमबाट विश्वसनीयता अभिवृद्धि गर्न सकिन्छ भनेर उद्योगी–व्यवसायीहरूले धेरै नै मेहनत गरेका छन् । तर पनि अस्वस्थ रूपमा कहिलेकाहीं धेरै ठूलो उद्योगहरूको बीचमा मूल्यमा प्रतिस्पर्धा गर्नका लागि गुणस्तरमा कमी–कमजोरी गरेको भेटिएको छ । यसले गर्दा पनि हामीलाई जटिलता थपिएको हो । अनुगमनका क्रममा कतिपय उद्योगले गुणस्तरमा तलमाथि गरेको पनि पाएको छ । गुणस्तरमा ध्यान नदिने उद्योगलाई कारबाही गर्ने भनेर दसैं अगाडि मात्र ४० वटा नमुना संकलन गरेका छौं । प्रत्येक महिनामा डन्डी, सिमेन्टलगायतका वस्तुहरूको नमुना संकलन गरेर परीक्षण गर्छाैं । विभागले गर्दै आएको सर्भिलेन्सलाई कडाइ गरेर लैजान्छौं । गुणस्तरका विषयमा उद्योगले कहींकतै कमजोरी गरेको छ भने सार्वजनिक रूपमा बाहिर ल्याउने गर्छौं । यसले गर्दा बजार सुधार होस् भन्ने उद्देश्यका साथ हामीले काम गरिरहेका छौं ।
गुणस्तरयुक्त वस्तु छ÷छैन भनेर उपभोक्ताले कसरी जानकारी पाउने ?
गुणस्तरीय डन्डी नभएको अवस्थामा बेन्डिङ, रिबेन्डिङ गर्दा क्र्याक हुने गर्छ । डन्डीमा क्र्याक छ कि छैन भनेर हेरियो भने पनि हामीले थाहा पाउन सक्छौं । सिमेन्टको हकमा विशेष गरेर यसको गुणस्तर छ कि छैन भनेर आफैं पनि मूल्याङ्कन गर्न सक्छौं । सिमेन्ट प्रयोग गरिसकेपछि त्यसको कडापन हुन्छ भनेर हेर्न सकिन्छ । घरमा प्रयोग गरिएको सिमेन्टको गुणस्तर मापदण्डअनुरूप छ कि छैन भनेर पनि हामीले थाहा पाउन सक्छौं । गहन रूपमा गुणस्तर हेर्नका लागि त नमुना परीक्षण गर्नुपर्छ । हाउस वेयरिङ तारको गुणस्तर पनि हेर्न सकिन्छ । अर्काे उस्तै तारको मोटाइपनमा कि छ कि भनेर थाहा पाउन सकिन्छ ।
पेट्रोलियम पदार्थको गुणस्तर र नापतौलको अवस्था के छ ?
पेट्रोल, डिजेलको गुणस्तरमा कहिलेकाहीं गुनासा र उजुरीहरू आउने गरेको देखिन्छ । पम्पले लामो समयसम्म सफाइ नगर्दा समस्या आउने गरेको देखिन्छ । मिसावटको हकमा एकदमै नगन्य मात्रामा रहेको छ । डिजेल र मटीतेलको मूल्य एउटै भइसकेपछि मिसावटको मात्र ह्वात्तै घटेको छ । हवाई इन्धन चोरी भयो भने फेरि डिजेलमा लगेर मिसावट हुन सक्छ, तर अहिले त्यसको मात्रा एकदम कम छ । इन्धनको नापतौलमा धेरै नै कडाइ गरेका छौं । पम्पले परिमाणमा तलमाथि गर्नासाथ अदालतमा मुद्दा दायर गर्छौं ।
गलत उद्देश्यले इन्धन भर्दा उपभोक्तालाई कम परिमाण दिने कहींकतै पाइए पनि समग्रमा अहिले धेरै नै सुधार आएको छ । पहिला जुन अनुपातमा परिमाणमा समस्या थियो, अहिले आएर धेरै नै कम भएको छ । आगामी दिनमा यसलाई ग्राहकको गुनासो र प्रतिक्रियालाई आधार लिएर अगाडि बढ्छौं ।
अहिले पम्पमा नयाँ प्रविधिमा आधारित डिस्पेन्स प्रयोग गरिसकेपछि चोरी हुने समस्या पनि एकदम न्यून छ । पम्पमा चोरी गरियो भने, कुनै पार्टहरू चलायो भने सबै रेकर्ड हुने प्रणाली जडान गरिएको हुन्छ । सबै हेर्न सकिने भएकाले पनि अनावश्यक रूपमा चलायो भने ती कुराहरू पछि थाहा हुन्छ । पुराना पम्पहरूमा केही समस्या छ, ती बिस्तारै फेजआउट हुँदै जान्छन् ।
ग्यास उद्योग सबैले गुणस्तर चिह्न लिइसकेका छन् ? उद्योगमा पनि बेलाबेला दुर्घटना हुने हुन्छ, किन ?
थोरै ग्यास उद्योगहरूले गुणस्तर चिह्न लिन बाँकी रहेको छ । अहिलेसम्म विभागबाट ५० वटा ग्यास उद्योगले गुणस्तर चिह्न लिएको र १० वटाले लिन बाँकी छ । केही उद्योगहरूले पूर्वाधारका कारणले गर्दा ढिलाइ भएको छ ।
ग्यासमा धेरै कारणले गर्दा दुर्घटना हुने गर्छ । ग्यास उच्च जोखिमयुक्त प्रज्वलनशील वस्तु रहेकाले पनि यसमा उपभोक्ता सचेत हुन अति आवश्यक हुन्छ । यसमा जनचेतना सबैभन्दा कमी रहेको छ । बोटलिङ प्लान्टले गर्नुपर्ने जिम्मेवारी भनेको सुरक्षित सिलिन्डरमा ग्यास भर्ने हो । त्यसमा लिकेज, परिमाण सुनिश्चित गरेर मात्र उपभोक्तामा पठाउनुपर्ने उद्योगीको दायित्व छ । पूर्वाधारको कमीले गर्दा कतिपय उद्योगमा समस्या छ । ग्यासको डिप परीक्षण भल्ब परीक्षण पूरा गर्नुपर्ने हुन्छ । यसमा कमजोरी भएको देखिन्छ ।
ग्यासमा बढी लिक भए कतिपय अवस्थामा छुटाउन नसकेको अवस्था पनि छ । बोटलिङ प्लान्टले अझै सुधार गर्नुपर्ने देखिन्छ । प्लान्टबाट ग्यास गइसकेपछि उपभोक्तासमक्ष पुगेपछि पनि सजक र सतर्क हुनुपर्छ । सिलिन्डरमा रेगुलेटर, पाइप फिट गर्छौं । प्रत्येक चरणमा हुने जोखिमलाई विश्लेषण गर्नुपर्छ । रेगुलेटर लगाइसकेपछि ग्यास लिक छ कि छैन, पाइप फिट छ कि छैन भनेर पनि हेर्नुपर्छ । अहिले रेगुलेटरमा रबर होज पाइप अनिवार्य गरेका छौं । यी पाइपहरूमात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
कतिपय अवस्थामा यस्ता पाइपहरू प्रयोग नगरिए चिसो तातोले पनि आफ्नो स्थान छोड्दा ग्यास लिक भएर दुघर्टना हुने भइरहेको छ । त्यसले गर्दा हामीले उपभोक्ता तहमा सचेतना के चाहिन्छ भनेर हरेक समय ग्यासबाट हुने दर्घटनाबाट जोगिनका लागि ग्यास लिक छ कि छैन भनेर हेर्नुपर्छ ।
ग्यास बाल्नुभन्दा पहिला ग्यास लिक भएको छ कि छैन भनेर हेर्नुपर्छ । लिक भएको छ भनेर सुरक्षित रूपमा रेगुलेटर बन्द गरेर बाहिर राखियो भने केही पनि फरक पर्दैन । तर, लिकेज भइरहेको अवस्थामा ग्यास बालियो भने आगलागी भएर दुर्घटना हुने हुन्छ । समग्रा भन्दा पहिलाभन्दा अहिले केही सुधार भएको छ । तर, आगामी दिनमा ग्यासबाट हुने दुर्घटनाबाट जोगिनका लागि प्रत्येक तहमा होसियार हुनुपर्छ । भल्ब, पाइप, रेगुलेटर जहाँबाट पनि ग्यास लिक हुन सक्छ । लिक भइरहेको छ/छैन भनेर बर्नरबाट ग्यास चलायो भने समस्या हुँदैन, तर ती कुरामा त्यति ध्यान दिएनौं भने जोखिम हुन सक्छ ।
ट्याक्सीले बढी शुल्क लिने, मिटरमा नगएर यात्रुलाई ठग्ने गरेको गुनासो छ, यसलाई कसरी नियमन गर्नुभएको छ ?
ट्याक्सीमा मुख्य समस्या भनेको मिटरमा नजाने हो, जसलाई सम्बोधन गर्नका लागि कानुन संशोधनको क्रममा रहेका छौं । यदि कानुन संशोधन भएर आयो भने मिटरमा ट्याक्सीले यात्रु नबोके पनि हामीले कारबाही गर्न सक्छौं । तर विगतमा मिटर प्रयोग नगरेकोमा यातायात व्यवस्था विभागबाट ट्याक्सीलाई कारबाही भएको छ । उपत्यकामा ९ हजारको संख्यामा ट्याक्सी सञ्चालनमा छन् । केही ट्याक्सीहरूले दुई–चार वर्षदेखि नवीकरण नगराईकन यात्रुहरूलाई ठगी गरेको पाइएको छ । यस्ता ट्याक्सीहरूलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका छौं ।
ढक–तराजुमा नापतौलको कमी भएको उपभोक्ताको गुनासो छ । यसलाई कसरी नियमन गरिरहनुभएको छ ?
ढकको नापतौलमा समस्या छैन । कानुनी रूपमा खरिद गरेको ३५ दिनभित्र अनुमति लिएर व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तोकिएको समयभित्र अनुमति नलिई ढक–तराजु सञ्चालन गरे १० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको व्यवस्था छ । कतिपय व्यवसायीले समयमा अनुमति नलिएर पनि ढक–तराजु सञ्चालन गरिरहेकाले कारबाही पनि गरेका छौं । अनुमति नलिए पनि तौलमा घटीबढी नगरेमा उपभोक्ता ठगी गरेको होइन । अनुमति नलिँदा कारबाही गर्ने व्यवस्था अनुचित भयो, व्यवसायीका संगठनहरूबाट माग आएको छ । यसको ऐन परिमार्जन गर्न अति जरुरी छ ।
वस्तुको गुणस्तर कायम गर्न र नापतौलमा हुने ठगी रोक्नका लागि विभागले के गर्दै छ ?
बजारमा नापतौल, गुणस्तरमा विगतमा भन्दा सुधार आएको छ । सहरी विकास विस्तार हुँदै आइसकेपछि दैनिक जनजीवनमा धेरै वस्तुहरू प्रयोग गर्नुपर्ने हुन्छ । गुणस्तरमा, नापतौलमा हुन सक्ने ठगी नियन्त्रण गर्नका लागि नियमित रूपमा अनुगमनसँगै तोकिएको मापदण्ड पूरा नगर्ने उद्योगी–व्यवसायीलाई कारबाही पनि गर्दै आएको छौं ।
यस्ता वस्तुहरूबाट आम उपभोक्ताप्रति स्वास्थ्य, सुरक्षा, वातावरणप्रति चासो हुने गर्छ । यी विषयवस्तुलाई सम्बोधन गर्नका लागि बजारमा विभागको भूमिका महŒवपूर्ण रहेको छ ।
तर, विभागमा कम जनशक्ति भएकाले नियमन गर्न धेरै नै समस्या परेको छ । किनभने बजारमा हजारौं वस्तुको नियमन, गुणस्तर कायम र प्रक्रियामा मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ । निजी क्षेत्रलाई सेवा प्रदान गर्ने र बजारमा निरीक्षण गर्नुपर्ने हुन्छ । सीमित जनशक्तिका बाबजुद पनि हामीले नयाँ–नयाँ मापदण्ड तयार गर्नुपर्ने हुन्छ ।
कतिपय विद्युतीय सामान त्यत्तिकै छन् । कन्स्टक्सनको क्षेत्रका धेरै विषय छन्, साथै सेवा क्षेत्रमा पनि धेरै विषयहरू हेर्नुपर्ने छन् । सार्वजनिक सेवा, स्वास्थ्य सेवामा मापदण्ड तयार गर्न बाँकी छ । नियमन जुन निकायबाट भए पनि पहिला तिनको मापदण्ड तयार गर्नुपर्ने हुन्छ । यी कामहरू अत्यावश्यकीय भइरहेको छ ।
साथै कतिपय फुड प्याकेजिङ वस्तुहरू तथा ड्राई फुडमा मापदण्ड तोक्नु जरुरी छ । आयात–निर्यातका वस्तुको पनि मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हस्तकलाका सामानहरूमा समयअनुकूल मापदण्ड तयार परिमार्जन गर्ने र त्यसअनुसार बजारमा नियमन र सेवा उपलब्ध गराउने विषय चुनौती रहेको छ । अहिले २० देखि २५ प्रतिशत मात्र सेवा उपलब्ध गराइरहेका छौं । सबै क्षेत्रमा सेवा उपलब्ध गराउन जनशक्ति अभावले सकिरहेका छैनौं ।
कुन–कुन वस्तुमा गुणस्तर निर्धारण गर्दै हुनुहुन्छ ?
मिनरल वाटर, निर्माण सामग्री, पेन्ट, ट्याङ्की, एलपीजी सिलिन्डर, विद्युतीय सामान अन्य नयाँ–नयाँ वस्तुहरूमा मापदण्ड तयार गर्दै छौं । २५ वटा वस्तुको गुणस्तर निर्धारण गर्न लागिरहेका छौं । यो वर्ष हस्तकलाका उत्पादनअन्तर्गत जेम्स ज्वेलरीमा बढी केन्द्रित भएर लागिरहेका छौं । फुटवेयर जुत्ता, अल्लोको उत्पादन, प्राकृतिक रेशाका वस्तुहरूलगायतका अन्य वस्तुमा गुणस्तर निर्धारण गर्न लागिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्