केपी शर्मा ओलीको दाबी «

केपी शर्मा ओलीको दाबी

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन् ।
आइतबार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले जिताइ दिएको सांसद संख्या गनेर दाहाल, माधवले संसदमा फार्तिफुर्ति गरेको भन्दै उहाँहरूले आगामी निर्वाचनमा नजित्ने दाबी गरे । माधव नेपाल चुनाव नउठ्ने र समानुपातिकमा बस्ने जिकिर गर्दै अध्यक्ष ओलीले समानुपातिकमा पनि नेपालको मत नआउने उनले तर्क गरे ।
उनले दुवै नेतालाई आगामी चुनाव जितेर देखाउन चुनौती दिए ।
अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई विध्वंशकारी, विनाशकारी र अस्थिरता ल्याउने तत्वको संज्ञा दिदैँ गठबन्धनलाई कसैले मत नहाल्ने बताए । उनले वर्तमान सरकारको कुनै गन्तव्य नभएको पनि बताए । उनले भने, ‘जुँगा त आफ्नो पो ताउ लाउनुपर्छ । अर्काले टाँसिदिया जुँगा । हामीले टाँसिदिएका, सांसदमा जुन फुर्तिफार्ति गर्दैछन् यतिजना भनेर होलान् २० जना, २२ जना होलान् । त्यो हामीले टाँसिदिएको हो । प्रचण्डको फुर्ति हामीले जगाइदिएको हो । प्रचण्डले अब जितेर देखाउन् त ? अब जितेर देखाउन् प्रचण्डले ? माधव नेपाल अब चुनाव लड्छन् ? तपाईहरूलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन् । समानुपातिकमा बस्छन् । आउला र खाउँला भनेर, त्यो हुनेवाला छैन । कुनै हुनेवाला छैन ।
मोर्चा भनेको त त्यो यति मान्छेमा मन्त्री हुनलाई त त्यस्तो मारामार भएर तिन महिना लाग्यो मन्त्री बनाउन, जनस्तरमा जाँदा यिनलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जे सुकै गरुन् कसले भोट दिन्छ ? कसले भोट दिन्छ यिनलाई अब ? यि विध्वंशकारी तत्व हुन् । यि विनाशकारी तत्व हुन् । यि भड्काउने तत्वहरू हुन् । अस्थिरता ल्याउने तत्वहरू हुन् । स्थिरता बनाउने तत्वहरू होइनन् । कसले यिनलाई दिन्छन् ? यिनलाई अब भन्छन्, जाउ न अदालत परमादेश लिएर आउ । हामी कहाँ किन आउँछौँ ? यो त जनताले बनाइदिएको सरकार होइन नि । यि विभिन्नथरी यि जान्छन् कता भनेको एउटाको मुख उता फर्किएको छ, एउटा उता, एउटा उता, हिँड्छन् कता, जान्छन् कता ? यिनीहरूको गन्तव्य के हो ? कता जाने ? एउटा मधेस, मधेश भन्छ । अर्को अर्कै कुरा गर्छ । यी विभिन्न थरी विभिन्न प्रकारका तत्वहरू जान्छन् कता ? गन्तव्य कतै छैन ।’
अध्यक्ष ओलीले अरु नेताहरूलाई एमालेमा फर्किन आग्रह गर्दै माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पारे ।
माधव नेपाल देशी, विदेशी प्रतिक्रियावादीहरूको सेवामा र उनीहरूसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिँडेको उनको आरोप छ । उनले भने, ‘अनुशासनहिन, अराजक तत्वहरू बाहिरिएका छन् । त्यसले पार्टीलाई बिग्रिएको आलु बोराभित्रै कोचेर आलु राम्रो हुन्छ भन्नेकुरा होईन, बिग्रिएकोलाई फाल्नुपर्छ । बिग्रिएका तत्वहरू थुपारेर काम छैन ।
त्यसकारण मैले भनेको माधव नेपाल बाहेक अरु पार्टीमा फर्किए हुन्छ । अरु साथीहरू फर्किनुस् । भ्रममा नपर्नुस् । तर, माधव नेपालजस्ता अपराधि तत्वलाई फेरि नेकपा(एमाले)ले लिदैन् । किनभने यो पार्टी भनेको तपाईहरू जस्तो देश बनाउन हिँडेका साथीहरू, तपाईहरू जस्ताका लागि यो पार्टी हो । माधव नेपाल जस्ता देशी विदेशी प्रतिक्रियावादीहरूको सेवामा, उनीहरूसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न हिँड्नेहरूका लागि यो पार्टी होइन् । बिग्रिएका पतित तत्वहरूका लागि यो पार्टी होईन ।’
उनले सबै वामपन्थी, कम्युनिष्ट, लोकतान्त्रिक तथा प्रजातन्त्रवादीहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्