प्राकृतिक विपत्तिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई लिनुपर्ने : गृहमन्त्री «

प्राकृतिक विपत्तिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई लिनुपर्ने : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरू भोग्नुपरेको उल्लेख गरे ।
उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरूपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।
नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरूको काँधमा आएको उनले बताए । उनले भने, ‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरूले बेहोरेको भन्दा पनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुप¥या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरू छिमेकी राष्ट्रमा पुग्ने भयो ।
अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समुन्द्र किनारलाई पनि त्यसले गम्भीर प्रभाव पार्छ । खाली नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरू छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिड्ने ? यो धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ ।’
गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरू परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिए । उनले भने, ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरूलाई, सम्पूर्ण विभागहरूलाई, सम्पूर्ण पक्षलाई जुटाएर अघि बढ्नेछ । हामी सबै नेपालीहरूले पनि जुटेरै विपतबाट नेपालीहरूको नेपालको भूमिको पनि रक्षा गर्नेछौं ।’
पानी बिनाको जिवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्