दसैंको मुखमा दैनिक २ हजार युवा बिदेसिँदै «

दसैंको मुखमा दैनिक २ हजार युवा बिदेसिँदै

दसैंं नेपालीको ठूलो पर्व हो । नेपालमा रहेका हुन् वा देशबाहिर रहेका नेपाली । सबैले उत्तिकै महत्वका साथ दसैंं मनाउने गर्छन् । अध्ययन, रोजगारी वा अरू कुनै सिलसिलामा विदेश पुगेको भए पनि दसैंंको अवसरमा स्वदेश फर्कने चलन पुरानै हो । दसैं नेपालमा नै मनाउने भनेर विभिन्न योजनासहित नेपाल फर्कने नेपालीको भीडले विमानस्थल अहिले खचाखच छ । दसैं मनाउन खुसी हुँदै नेपाल फर्कने मात्र होइन, दसैंको मुखमा नै बाध्य भएर बिदेसिने नेपालीको खिन्न अनुहारले समेत आजभोलि विमानस्थल भरिएको छ ।
स्वदेशमा रोजगारी नपाएर परिवार पाल्न बिदेसिनु नेपाली युवाको रहर नभएर बाध्यता बनेको दुई दशक भइसकेको छ । अझ दसैंकै मुखमा परिवारलाई छोडेर बिदेसिनुपर्ने बाध्यताको पीडाले परिवारलाई मात्र होइन, आफन्त लिन विमानस्थल पुगेकाहरू पनि भावुक हुने गरेको दृष्य अहिले विमानस्थलमा देख्न सकिन्छ । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा जनशक्तिको अभाव हुने थालेपछि त अपर्झट बिदामा आएका युवासमेत दसैंको मुखमा झोला बोलेर विदेश जानुपर्ने बाध्यता रहेको छ ।
परिवारसँग बसेर दसैं मनाउने बेलामा कतार जान लागेका झापा शनिश्चरेका डिके बराल दसैं मनाएर जाने योजना बनाउँदा–बनाउँदै रोजगारदाताले तत्काल बोलाएपछि शुक्रबार बिहान उड्ने तयारीमा काठमाडौमा आइसकेका छन् । त्यसो त अन्य समयको तुलनामा दसैंमा विदेश जाने नेपालीको संख्या कम हुने गरे पनि जानेको संख्या शून्य भने नभएको अध्यागमन विभागका प्रमुख माधव ढुंगेल बताउँछन् । कोरोना संक्रमणअघिको अवस्थाजस्तो अहिले ठूलो संख्यामा युवा विदेश नगए पनि जाने क्रम भने बिस्तारै बढ्दै गएको उनको भनाइ छ । दुई वर्ष अघिदेखि ओरालो लागेको नेपाली युवाको वैदेशिक रोजगारी विगत साउनदेखि लयमा फर्कंदै गरेको देखिन्छ । बरालजस्ता हजारौं युवा दसैंको मुखमा परिवार पाल्नकै लागि दसैंको रौनक बिर्सेर विदेश जानुपरिरहेको छ । तीन महिनाअघि बिदामा आएका बरालले दसैं मानेर जाने योजना बिदा थप गर्ने निवेदन दिए पनि कम्पनीमा काम गर्ने जनशक्ति अभाव हुँदा फुलपातीको दुई दिनअघि कतार उड्दै छन् । अघिल्ला दसैंमा परिवारसँग चाडपर्व मनाउन नपाएका बरालले दसैंका लागि खसीसमेत खरिद गरेका थिए ।
विदेशमा दसैं नीरस हुने भए पनि विगत एक हप्तामा मात्र ११ हजार ३ सय ५८ नेपाली युवा आँगनमा आएको दसैंलाई भुलेर विदेश गएका छन् । यो संख्या फुलपातीसम्म अझ बढ्ने देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम डेस्कका अधिकृत तीर्थराज कट्टेलले जानकारी दिए । उनका अनुसार, दसैंको मुखमा समेत विदेश जाने दैनिक औसत संख्या २ हजार रहेको छ । बिदामा आएर लामो समय फिर्ता जान नसकेका धेरै युवा दसैंका मुखका विदेशको बाटो रोजेको हुन । म्यानपावर कम्पनीले पनि दसैंको बेला विदेश जाने टिकट सस्तो पाउने गरेका कारण श्रमिकलाई दसैंमा धेरैलाई पठाउने गरेका छन् । दसैंको मुख बिदेसिनु एक प्रकारले दुःखद कुरा भए पनि रोजगारी नपाएर लामो समय निराश बनेका कारण पैसाको आशमा जान लागेको युवाको भनाइ छ ।
दसैंमा देश र परिवार छोडेर गए पनि विदेशमा दसैं मनाउन स्वदेशमा जस्तो सजिलो भने छैन । टीकाको दिन विदेशी कम्पनीको बिदा ठ्याक्कै मिल्नुपर्छ । मिलेन भने एक–दुई दिन अघिपछि मिलाएर टिका लगाउनुपर्छ । टीकाको दिन आइतबार वा शनिबारजस्ता हप्ते बिदा परे बिदेशमा बस्नेका लागि काइदा नै हुन्छ । यस्तो अवसर भाग्यले मात्र मिल्ने दसैंअघि विदेश जाने नेपालीहरू बताउँछन् । कतिपय राम्रा कम्पनीले दसैंंका लागि भनेर बोनससमेत दिने गरे पनि नेपालमा जस्तो विदशमा दसैं राम्रो नहुने नेपालीको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्