वित्त आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह «

वित्त आयोगको सिफारिस कार्यान्वयन गर्न आग्रह


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले नेपाल सरकार र प्रदेश सरकारलाई गत आर्थिक वर्षहरूमा उसले दिएका सुझावहरू कार्यान्वयन गर्न आग्रह गरेको छ ।
आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा नेपाल सरकार र प्रदेश सरकारलाई दिइएका सझुाव वा सिफारिसहरूको कार्यान्वयनको अवस्था विश्लेषण गरी तिनलाई कार्यान्वयन गर्न आग्रह गरिएको हो । आयोगले संविधान र कानुनले प्रदान गरेको कार्य जिम्मेवारी बमोजिम विगतमा तीनै तहका सरकारलाई गरेको सिफारिस तथा दिएका सुझावहरूको कार्यान्वयनको अवस्था पनि विश्लेषण गरेको छ ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रो वार्षिक प्रतिवेदन पेस गरिसकेका छन् । प्रतिवेदनमा आयोगले गत आ व २०७७/०७८ मा नेपाल सरकारलाई र प्रदेश सरकारलाई गरेका सिफारिसहरु तथा दिइएका सझुावहरु समावेश गरेको प्रवक्ता कृष्णबहादुर बोहराले बताए । आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आयोगले दिएका कतिपय सुझाव नेपाल सरकार र प्रदेश सरकारले पालना गरेका भए पनि कतिपय पालना गरेको नपाइएको बोहराले बताए । “हामीले दिएका सुझाव नेपाल सरकार र प्रदेश सरकारले पालना गर्नुपर्दछ भन्ने हो,” बोहरोले भने । आयोगले वित्तीय संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपाल सरकार र प्रदेश सरकारलाई सुझाव दिँदै आएको छ । तर सरकारका बजेटहरू राजनीतिबाट प्रेरित भएर पनि आउने भएकाले आयोगका कतिपय सिफारिस तथा सुझावहरू कार्यान्वयन हुन सकेको छैन । ओली सरकारका तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयोगको सिफारिसअनुसार वित्तीय समानीकरण अनुदान प्रदेश सरकार र स्थानीय तहमा हस्तान्तरण नगर्दा उनको आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्