निर्माण भएको दुई वर्षमा पनि सञ्चालनमा आएन स्वास्थ्यचौकी भवन

बजेट अभावकै कारण गाउँका दुरदराजमा भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् । बजेट अभावकै कारण सानो र साँघुरो भवनबाटै सेवा दिन बाध्य बन्दै आएका छन्, सेवाप्रदायक संस्थाहरू । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भई उद्घाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
राज्यको करोडांै लगानीमा निर्माण भएको भवन सञ्चालनमा आउन नसक्दा अझै पुरानो भवनबाटै सेवा लिन बाध्य छन् यस क्षेत्रका नागरिक । भवन निर्माण सम्पन्न भएसँगै २०७६ साल पुस २६ गते छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले उद्घाटन गरेका थिए । दुईतले पक्की भवन यतिबेला झोर जंगल र झाडीले ढाकेको छ । करोडांै लगानीमा निर्माण गरिएको भवनका भौतिक संरचना टुट्न र फुट्न थालेका छन् । हिमालयन ओम जाम्बीयो जेबी निर्माण कम्पनीले निर्माणकार्य सम्पन्न गरी दुई वर्षअघि हस्तान्तरण गरेको थियो ।
करोडौं लगानी भएको भवन उद्घाटन भए पनि सञ्चालनमा नआउँदा चिन्तित बनेको स्थानीय निरोज निरौलाले बताए । “नयाँ भवन बनेपछि सहज रूपमा सेवा पाइन्छ भन्ने आशा थियो तर वर्षांै बितिसक्दा पनि प्रयोगमा आउन नसक्दा हामी सरोकारवालाले चासो देखाउनु पर्ने अवस्था सिर्जना भएको छ,” उनले भने । उक्त भवन सहरी विकास मन्त्रालयको एक करोड ३९ लाख लागनी निर्माणकार्य सम्पन्न भएको थियो । कोरोना महामारीको समयमा पनी यो भवन सञ्चालनमा नआउँदा सेवा लिनसमेत समस्या भएको स्थानीय मदन फुयाँलको दुःखेसो छ ।
छथर गाउँपालिकाको वडा नं ४ का साथै २, ३ र ५ का केही क्षेत्रका नागरिकले यस स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका छन् । नागरिकहरूले सेवा लिने भवन भएर पनि सञ्चालनमा आउन नसक्दा यहाँका नागरिकको समस्या यथावत छन् । यता छथर गाउँपालिका–४ का वडाध्यक्ष उपेन्द्र लिम्बुले भने बजेट विनियोजनमा शीर्षक नमिलेका कारण समस्या भएको बताए । स्वास्थ्य चौकी नागरिकको पहिलो उपचार लिने संस्था हो । स्वास्थ्य संस्था कै भवन भएर पनि सञ्चालनमा नआउनु दुःखद् हो ।