Logo

मनाङमा कोसेली घर सञ्चालन

मनाङमा कोसेली घर सञ्चालनमा आएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका–४ स्थित घर भाडामा लिई कोसेली घरको सञ्चालन गरिएको हो । राष्ट्रिय युवापरिषद् मार्फत जिल्ला युवा समितिको कार्यालय मनाङको ऋण सहयोगमा २०७५ असोज १ गतेबाट सञ्चालनमा ल्याएको हो । तिलिचो किराना पसल साझेदारी फर्म समूहले उक्त कोसेली घर सञ्चालन गरेको तिलिचो किराना पसल साझेदारी फर्म समूहका सचिव सिर्जना रानाले बताइन् । रानाका अनुसार हाल तिलिचो किराना पसल साझेदारी फर्म समूहमा ६ जनाको समूह बनाई राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था चामे मनाङको सहकार्य रहेको रानाले बताइन् ।
राष्ट्रिय युवापरिषद् मार्फत जिल्ला युवा समितिको कार्यालय मनाङका ५ लाख रुपैयाँको ऋण सहयोगमा कोसेली घरको स्थापना गरी सञ्चालनमा आएको हो । ५ लाख रुपैयाँमध्ये हाल भने जम्म २ लाख रुपैयाँको मात्र लगानी गरी सुरु गरिएको छ, विस्तारै यस कोसेली घरलाई पूरा लगानी गरी साथै लगानी थप गरी व्यवस्थित बनाउने तिलिचो किराना पसल साझेदारी फर्म समूहका अध्यक्ष सेरप गुरुङले बताए । साथै एक कर्मचारीसमेत राखी आफ्नै पसल घर बनाई कोसेली घर सञ्चालनमा ल्याउने समेत गुरुङले बताए ।
मनाङ जिल्लाको लोकल उत्पादनलाई प्रबद्र्धन तथा बिक्री वितरण गर्ने यस कोसेली घरको मुख्य उद्देश्य रहेको संस्थाका सचिव रानाले बताइन् । जिल्लाभित्र उत्पादित फापर, फापरको पिठो, जिम्मु, टिमुर, करु, स्याउँ, च्याउँ, आलुलगायतका तरकारी, फलफूल एवं अन्य स्थानीय उत्पादनहरू सुपथ मूल्यमा बिक्री गरी आर्थिक तथा सेवामूलक कार्यका लागि यस कोसेली घरको स्थापना गरिएको रानाले बताइन् ।
सो कोसेली घरले जिल्लामा उत्पादित वस्तुहरू स्थानीय व्यक्तिहरूसँग खरिद गरी बाह्य तथा आन्तरिक पर्यटकलगायत जिल्लामा कार्यरत कर्मचारी, प्रहरी, नेपाली सेनालगायतका व्यक्तिहरूले उपभोगका लागि साथै मनाङको कोसेलीको रूपमा घर लैजाने गरेको समेत रानाले बताइन् । संस्थाले आफैं स्थानीयको घरमा गई उत्पादित सामग्री खरिद गर्नुको साथै स्थानीय पनि जिल्लामा उत्पादन भएको, साथै आफ्नै घरमा उत्पादन भएका सामग्रीहरू बिक्री गर्नसमेत आउने गरेको संस्थाका सचिव रानाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्