मनाङको भार्ताङ भीरको अवरोध हट्यो
हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत भार्ताङ भीरमा अवरुद्ध सडकमा यातायात सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध भार्ताङ भीरमा साढे तीन महिनापछि आइतबारबाट यातायात सुचारु भएको हो ।
गतअसार १ गतेको भारी वर्षा र पहिरोले अवरुद्ध मनाङ सडकअन्तर्गत भार्ताङ भीरमा चट्टानसहितको पहिरो गएपछि लामो समय यातायात सञ्चालन हुन सकेको थिएन । ठूलो चट्टानसहितको पहिरोले सडक भास्सिएपछि झण्डै ४० दिन लगाएर सडक मर्मत भएको हो । सडक मर्मतका लागि नेपाली सेनाको सहयोगमा ब्लाष्टिङसमेत गर्नुपरेको थियो ।
सडक मर्मतको काम सम्पन्न भएसँगै स्थानीयले औपचारिक कार्यक्रम गरी खुसीयाली नै मनाएका छन् । कोभिड–१९ को महामारीका बेला प्राकृतिक विपद्ले जिल्लाबासीलाई आक्रान्त बनाएको भन्दै लामो समय पश्चात सडक खुलेपछि स्थानीयले खुसीयाली मनाएका हुन् । विपदका बेला सडक सञ्जाल नहुँदा उद्धार र राहतमा समेत समस्या भोगेका मनाङका स्थानीयले अहिले जिल्ला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा यातायात सञ्चालन भएपछि ठूलो राहतको अनुभूति गरेका छन् ।
वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढी र अधिकाँश स्थानमा आएको पहिरोले सडक पुर्ने तथा भत्काउने गरेपछि साढे तीन महिनादेखि मनाङको सडक सञ्जाल विच्छेद भएको थियो । विपदका बेला तत्कालीन उद्धार र राहतपछि यातायात सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । भार्ताङ भीरमा अवरोध हटेसँगै माथिल्लो मनाङदेखि सदरमुकाम चामे हुँदै तिमाङसम्मको यातायात सञ्चालनमा आएको छ ।
यद्यपि मनाङबाट बाहिरी जिल्लाका लागि भने अझै पनि सडक अवरोध हटेको छैन । मनाङको नासोङ गाउँपालिकाअन्तर्गत धारापानी, बगरछाप, दानाक्युलगायतका क्षेत्रमा सडक अवरोध हटाउने काम भइरहेको मनाङ प्रशासनले जनाएको छ । पहिरोले क्षतविक्षत बनेको सडकमध्ये मनाङको खोत्रोदेखि दानाक्युसम्म मात्रै अवरोध बाँकी रहेको हो ।
नासोङ–३, धारापानीमा सडक सञ्चालनका निम्ती समस्या भएसँगै नयाँ ट्रयाक खोल्ने विषयमा विवाद भएको थियो । पहिरोले भास्सिएको सडक पुनर्निर्माणका क्रममा कहीँ ठूलो ढुँगा तथा चट्टान भएको र कहीं घर तथा भौतिक संरचना भएकाले स्थानीयबाट अवरोध भएको हो । धारापानीको विवाद समाधान भई सडक निर्माणको काम सुरु भइसकेको छ ।
प्रजिअ लामिछानेका अनुसार तत्कालका लागि धारापानी क्षेत्रमा मस्र्याङ्दी नदी किनारबाट अस्थायी सडक बनाउने र स्थायी सडकको कामलाई पनि निरन्तरता दिने सहमति भएको छ । धारापानीमा अस्थायी सडक बनेसँगै जिल्लामा दसंै अगावै यातायात सञ्चालन गर्ने पहल भइरहेको पनि प्रजिअ लामिछानेको भनाइ छ ।
सडक अवरोध हटेसँगै मनाङमा पर्यटन व्यवसायमा उत्साहजनक प्रगति हुने स्थानीयको अपेक्षा छ । हाल मनाङका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका र पर्यटकीय सिजन सुरु भएकोले सडक ट्रयाक खुलेसँगै पर्यटक आगमन बढ्ने स्थानीयको अपेक्षा छ । केही साता अघिदेखि मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनसमेत हुन थालेको छ ।