नेपाल ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् ।
बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।
समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका छन् । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना निर्वाचित भएकी छन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् । निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम बताए । उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए । उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे ।
नवनिर्वाचित अध्यक्ष विष्टले यस काममा सबै जना मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीसँग राम्रो सम्बन्ध बनाउने र हातेमालो गरेर अघि बढ्ने बताए । नवनिर्वाचित १५ सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ छन् ।