स्थानीय तहविरुद्ध वन कार्यालयमा उजुरी «

स्थानीय तहविरुद्ध वन कार्यालयमा उजुरी

सल्यान-छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले सल्यानका नौवटा स्थानीय तहलाई रुख काटेर सडक निर्माण गरेको भन्दै सरकारविरुद्ध डिभिजन वन कार्यालयमा उजुरी दिएका छन् ।
आफ्नो गाउँपालिकाले छत्रेश्वरी मन्दिरको विकासका लागि सडक खन्दा थोरै रुख काटिँदा काम रोकिएको भन्दै अध्यक्ष केसीले अन्य स्थानीय तहको पनि काम रोक्नुपर्ने बताए । उनले छत्रेश्वरी गाउँपालिकाबाहेक सल्यानका सबै स्थानीय तहविरुद्ध उजुरी दिएका हुन् । छत्रेश्वरी गाउँपालिकाले छायाँक्षेत्र मन्दिर प्रवेश गर्ने सडक निर्माणकार्य गर्न लागेको थियो ।
सडक निर्माण गर्दा रुख काटिएको उजुरी परेपछि डिभिजन वन कार्यालयको टोलीले अनुगमन गरेको थियो । जथाभावी रुख काटिएको पाएपछि माघ १७ मा डिभिजन वन कार्यालयले सडक निर्माणकार्यमा रोक लगाएको थियो । उनले भने, “अन्य स्थानीय तहले थुप्रै रुख काटेर सडक तथा भ्युटावर बनाइरहेका छन, वन कार्यालय टुलुटुल हेरेर बसेको छ । तर हामीले मन्दिरको विकासका लागि २० देखि २५ वटा रुख काट्दा नक्कली निवेदनका आधारमा काम रोकिन्छ ?”
डिभिजन वन कार्यालयले छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष केसीले दिएको उजुरीका आधारमा सबै स्थानीय तहको छानबिन गरिने जनाएको छ । “तत्कालै सबै स्थानीय तहलाई रुख काटेर सडक निर्माणकार्य रोक्न आग्रह गर्छु,” डिभिजन कार्यालय प्रमुख थिरबहादुर कार्कीले भने । वनले टोली खटाएर स्थानीय सरकारले निर्माण गरिरहेका सडकको छानबिन गर्ने भएको छ । सडक खन्न नरोक्ने स्थानीय तहविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने कार्कीले बताए । “तत्कालै छानबिन गर्छौँ, छानबिनका आधारमा कारबाही प्रक्रिया पनि अघि बढाउँछौं,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्