वस्तुगत संघका समस्या समाधानको पहल गर्ने महासंघको प्रतिबद्धता «

वस्तुगत संघका समस्या समाधानको पहल गर्ने महासंघको प्रतिबद्धता


नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचित भएर नयाँ नेतृत्वमा आएका सदस्य तथा वस्तुुगत संघका पदाधिकारीसँग छलफल थालेको छ ।
महासंघले निर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै निर्वाचित समूहको भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो । महासंघले यसअघि नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित टिमसँग समस्या तथा गुनासाहरुका बारेमा छलफल गरेको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूसँग अन्तरक्रियासमेत गरका छन् ।
फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष मीनबहादुर तामाङले कोभिडका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलब्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने र पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव दिएका थिए ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यास उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने बताए । उनले केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्नेलगायतका सुुझाव राखेका थिए । संघमा हाल ५८ वटा ग्यास उद्योगहरू आवद्ध छन् । एलपी ग्यास उद्योगमा करिव ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नहँदा व्यवसायीहरु मारमा परेको बताए र उनले चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ दूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुुझाव दिए ।
महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताए । उनले कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषदमार्फत अगाडि बढाउने विश्वास दिलाए ।
उनले एलपी ग्यासका समस्या समाधान गर्न सरकारसँग छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै सञ्चालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनियाँ राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटेर ठोस पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वस्तुुगत संघहरूको वास्तविक समस्या पहिल्याई समस्या सम्बोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताए । महासंघको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यवसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेकाले यसमा सबै सदस्य संघहरूको हातेमालो आवश्यक रहेको उनले बताए ।
महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य वस्तुुगत संघहरूसँग सधैं नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुुनी त्यसलाई सम्बोधन गर्ने प्रयास गर्ने बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासंघले आफना सदस्यहरूको समस्या समाधानमा सधैं उच्च प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्