मनाङमा त्रिपाल टाँगेर पठनपाठन सुुरु गरिने

हिमाली जिल्ला मनाङको तालस्थित भानु माध्यमिक विद्यालयले त्रिपाल टाँगेर पठनपाठन सुरु गर्ने तयारी गरेको छ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय पुरिएपछि नासोङ गाउँपालिका–१ तालस्थित सो विद्यालयमा त्रिपाल टाँगेर पठनपाठन सुरु गर्न लागिएको विद्यालयले जनाएको हो ।
लामो समय कोभिड संक्रमण जोखिमका कारण विद्यालय बन्द रहेको र सोहीबीचमा मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय भवन पुरिएपछि पठनपाठन गर्ने ठाउँ नहुँदा अब त्रिपाल÷टेन्ट टाँगेर पठनपाठन सुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक श्यामकृष्ण पन्तले बताए । बाढीका कारण विद्यालयको कुनै पनि भौतिक संरचना नभएको र हाल शैक्षिक सत्र सुरु भइसकेकाले बालुवामाथि त्रिपाल टाँगेर भए पनि कक्षा सञ्चालन गर्न लागिएको प्रधानाध्यापक पन्तको भनाइ छ ।
“विद्यालय भवन छैन, त्यही बालुवाको चौरमा त्रिपाल टाँगेर कक्षा सुरु गर्ने तयारीमा छौं,” प्रअ पन्तले भने, “अब शैक्षिक सत्र सुरु भइसक्यो, नपढाएर पनि त भएन ।” कक्षा सञ्चालनको निम्ति भौतिक संरचना पनि नभएको र पर्याप्त टेन्ट पनि नभएको प्रअ पन्तको भनाइ छ । हाल स्थानीय गाउँपालिका एवं अन्य सहयोगी निकायसँग टेन्ट उपलब्ध गराउन आग्रह गरिएको उनले बताए । “विद्यालयका लागि आवश्यक टेन्ट र त्रिपाल गाउँपालिकालगायत विभिन्न सहयोगी निकायसँग माग गरेका छौं,” प्रअ पन्तले भने ।
विद्यालयको भौतिक संरचनामा बाढीले प्रभाव पारेसँगै चालू शैक्षिक सत्रमा विद्यार्थीसमेत घटेको विद्यालयले जनाएको छ । एक सयभन्दा बढी विद्यार्थी अध्यनरत सो विद्यालयमा चालू शैक्षिक सत्रदेखि झण्डै आधा विद्यार्थी घट्ने अनुमान गरिएको प्रअ पन्तको भनाइ छ । यसअघि सो विद्यालयमा २४ जना तिब्बती शरणार्थी विद्यार्थी अध्ययन गर्दै आएका थिए । तर हाल ती विद्यार्थीलाई सम्बन्धित संस्थाले पोखरा सारिसकेको विद्यालयले जनाएको छ । प्रअ पन्तले भने, “२४ जना शरणार्थी विद्यार्थी थिए, ती पनि पोखरा गइसके, अब कक्षा १० बाहेक अन्य कक्षामा विद्यार्थी धेरै घट्ने भएका छन् ।”
लमजुङ–मनाङ सिमानामा रहेको सो विद्यालयमा छिमेकी जिल्ला लमजुङबाट पनि केही विद्यार्थी अध्यनका लागि पुग्ने गर्दथे । तर अब विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको र बाढीसँगै विभिन्न ठाउँमा गएको पहिरोले लमजुङतर्फका विद्यार्थीलाई अध्ययनका निम्त विद्यालय पुग्न कठिन हुने भएपछि विद्यार्थी घट्ने स्वाभाविक भएको प्रअ पन्तको भनाइ छ ।
विद्यालयले यसअघि छात्रावासको समेत व्यवस्था गरेको थियो । भौगोलिक रूपमा टाढा रहेका विद्यार्थी छात्रवासमै बसेर पनि अध्ययन गर्दै आएका थिए । तर बाढीले छात्रावासको भवनसमेत पुरेपछि अहिले आवासीय व्यवस्था गर्न नसकिएको विद्यालयले जनाएको छ ।
२०३२ सालमा स्थापना भएको सो विद्यालय अहिले बाढीको प्रभावले संरचना क्षतिसँगै विद्यार्थी र शैक्षिक क्रियाकलापमा समेत ठूलो नोक्सानी बेहोर्नु परेको विद्यालयका प्रअ पन्तको भनाइ छ ।
मनाङको तालसँगै सदरमुकाम चामेमा रहेको लोकप्रिय माविमा पनि बाढीले क्षति पु¥याएको छ । चामेस्थित लोकप्रिय माविको केही संरचना बाढीले बगाएको छ भने बाँकी संरचनामा तारबार गरी पठनपाठन सुरु भइसकेको छ । जिल्लाका अन्य विद्यालयमा पनि संकटका बीच वैकल्पिक व्यवस्थापन गरी पठनपाठन सुरु भएका छन् ।