एकीकृत समाजवादी संसदीय दलको विधान पारित

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा बुधबार बसेको बैठकले विधान पारित गरेको हो । सो निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।
यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो । सो कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी छन् ।
एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सत्तामा पुगेपछिको उन्मादको अभिव्यक्ति भएको निष्कर्ष पनि निकालेको छ ।
पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद बिरोध खतिवडाले ओलीको कारबाहीमा परेका १४ जना नेकपा एकीकृत समाजवादीका सांसदहरु संसदमा उपस्थित भए संसद चल्न नदिने भन्नु मिडिया खपतको लागि मात्रै भएको बताए । उनले एउटा दलको नेतालाई संसदमा उपस्थित भए संसद नै चल्न नदिने भन्ने उनी को हुन् भन्दै प्रश्न गरे । सांसद खतिवडाले संसदमा उपस्थित हुँदा आफूहरुले संयमित भएर प्रतिवाद गर्ने तर संयमतालाई पनि उल्लंघन गर्न खोजे जस्तालाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिए ।