ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न समाजवादीको निर्देशन «

ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न समाजवादीको निर्देशन

नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न तथा जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचारप्रसार चलाउन भनेको हो ।
ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जाहेज ‘विद्रोह’ भएको अपानिमा उल्लेख गरिएको छ । ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको तथा उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको अपानिमा आरोप लगाइएको छ ।
अलग्गै भेला गरी पार्टी फुटाउने, कब्जा गर्ने उद्देश्यले केपी ओली समूहले ७ पुसमा १५०१ जनाको केन्द्रीय कमिटी गठनको निर्णय गरेपछि पार्टीमा थप विवाद चुलिएको अपानिमा उल्लेख छ । अपानिमा भनिएको छ, ‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छाअनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी एमालेलाई विभाजको दिशामा धकेलिदिए ।’
केपी ओली समूहको त्यही निर्णयबाट एमालेको विभाजन सुरु भएको उल्लेख गरिएको छ । ओलीले यस किसिमबाट बलमिच्याइँ र मनमौजी ढंगले गरेका सम्पूर्ण निर्णहरू अवैधानिक भएकाले तिनलाई सच्याइ पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पु¥याउन निकै प्रयत्न गरिए पनि ओलीमा देखिएको दम्भ र घमण्डले उनले सच्याउन तयार नभएपछि पार्टी पुनर्गठन गरिएको प्रस्ट पारिएको छ ।
सर्वोच्च अदालतको २३ फागुनमा नेकपा विभाजन गरी तत्कालिन एमाले र माओवादी केन्द्र कायम गरेपछि पनि पार्टी एकताको सम्भावना कायम रहेको भन्दै अपानिमा ओलीकै कारणले पार्टी एकता नभएको आरोप लगाइएको छ । ओली प्रवृत्तिविरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समाजवादीले गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखिने जनाएको छ ।
यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जहरुको जिम्मेवारी तोकेको छ ।
आइतबार पार्टीले स्थायी कमिटी, सचिवालय र प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी बनाएको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए । उनका अनुसार पार्टीको राष्ट्रिय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पहिले नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहेका मुकुन्द न्यौपाने, डा. वेदुराम भुषाल र प्रमेश हमाल रहनुभएको स्थायी कमिटी गठन गरिएको छ ।
पार्टीको दैनिक कार्य सम्पादन गर्नको लागि वेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको पनि कार्यालय सचिव डा. तुलाधरले जानकारी दिए । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी डा. गंगालाल तुलाधरलाई दिइएको छ । त्यसैगरी प्रदेश नम्बर १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश नम्बर २ को इन्चार्जमा धर्मनाथ शाह, वागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, कर्णाली प्रदेशको इन्चार्ज प्रकाश ज्वालालाई तोकिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज भने पछि तय गरिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्