Logo

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँअनुसारको उम्मेदवारी दिने बताए । उनले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने पनि बताए । उनले अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने बताए ।
वरिष्ठ नेता पौडेलले अभूतपूर्व रुपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान व्यक्तिहरुलाई पीडित भएको बताए । पौडेल पक्षले कांग्रेसको वडा अधिवेशन शुरु हुनुभन्दा एक दिन अघिसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी थिए । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेता गगनकुमार थापा पनि पत्रकार सम्मेलनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्