एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल «

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।
पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए । संसदीय दलको बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको उहाँले बताउनुभयो । बैठकले पार्टीको तर्फबाट मन्त्रि छान्ने जिम्मा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए ।
आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले मन्त्रिपरिषद् चाडै विस्तार हुने बताए । त्यसका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अबको एक दुइ दिनमै छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गरे। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको छ ।
संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफूहरु कुनै पार्टी सँग एकता नगर्ने बताए । संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरुको पार्टीमा गएर विलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरु विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे ।
अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशिल, चलायमान र समृद्ध बनाउन र जनतालाई गरीबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरुको ध्यान केन्द्रीत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्