स्याउ उत्पादन दोब्बर «

स्याउ उत्पादन दोब्बर

लमजुङ-एग्रो मनाङले हिमाली जिल्ला मनाङमा अघिल्लो वर्षको तुलनामा दोब्वर स्याउ उत्पादन भएको जनाएको छ । नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फार्म’ सुरु गरेको एग्रो मनाङ स्याउ फार्मले यो वर्ष मात्रै चार सय टन स्याउ उत्पादन भएको जनाएको हो ।
मनाङको ङिस्याङ गाउँपालिका १, भ्राताङमा ७ सय ५० रोपनी क्षेत्रफलमा लगाइएको उक्त स्याउ फार्मबाट यसवर्ष विगतको भन्दा दोब्बर स्याउ उत्पादन भएको कम्पनीका स्टोरकिपर गणेश गुरुङले बताए । “यसपटक करिव चार सय टन स्याउन उत्पादन भयो,” गुरुङले भने “यो अघिल्लो वर्षको तुलनामा दोब्वर हो ।”
एग्रो मनाङले विभिन्न तीन प्रजातिका स्याउ उत्पादन गरेको जनाएको छ । इटाली र सर्बियाबाट धेरै फल दिने फूजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको फार्ममा गाला र गोल्डेन स्याउ बिक्री भइसकेको छ, भने फुजी स्याउ बिक्रीको क्रममा रहेको छ ।
उत्पादित स्याउ मेसिनमार्फत नै ग्रेड छुट्याएर बिक्री गरिएको कम्पनीले जनाएको छ । विशेष गरी काठमाडौंमै बढी माग भएको र मनाङ आउने स्वदेशी तथा विदेशी पर्यटकले फार्म मै आएर स्याउ लग्ने गरेको कम्पनीले जनाएको छ ।
माथिल्लो मनाङको मनाङ, टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेती थालिएको हो । २७ वर्षका लागि जग्गा भाडामा लिएर तीन जातका स्याउ लगाइएको यस स्याउ फार्ममा २५ करोडसम्मको लगानी छ । स्याउ खेतीसँगै पिसाङमा जुुस उद्योग र कोल्डस्टोर समेत सञ्चालनमा ल्याइएको छ । स्याउको चिप्ससमेत कम्पनी आफैंले बनाउँदै आएको छ ।
स्याउको बोटले दुई वर्षदेखिबाटै फल दिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने कम्पनीले जनाएको छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कम्पनीको दाबी छ । यी जातका स्याउ समुद्री सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने भएको र भ्राताङ २८ सय ५० मिटर उचाइ रहेकाले राम्रो फल दिने एग्रो मनाङ प्रालिले जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्