बालुवा उत्खनन्ले मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा «

बालुवा उत्खनन्ले मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा


अवैध रूपमा बालुवा उत्खनन् गर्दा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने पक्की पुल जोखिममा परेको छ । दर्जनौं स्थानीयले दैनिक पुल आसपासको क्षेत्रमा धमाधम बालुवा उत्खनन् गर्न थालेपछि पुल जोखिममा परेको हो ।


साउन–भदौमा पानी बढेर नदी कटान गर्ने त छँदै छ । त्यसैमाथि स्थानीयले दैनिक बालुवा उत्खनन् गर्दा पुल जोखिममा परेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । उनले भने, “पुल निर्माण थालनी हुदाँदेखि नै बालुवा उत्खनन् भइरहेको छ । पुल सञ्चालनमा ल्याउने बेला दुवैतर्फ ग्याबिनसहितको पर्खाल हाल्न खोज्यांै तर स्थानीयले बसपार्क साइटमा ग्याबिन हाल्न नदिएर विरोध गरे । कि आफ्नो जग्गाको क्षतिपूर्ति देउ कि बालुवा उत्खनन् गर्न रोक्दैनौं भने । पुल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि दिनानुदिन बालुवा उत्खनन् नरोकिएपछि पुल जोखिममा परेको छ ।”


भ्याटसहित ५ करोड ८५ लाखमा जुम्ला हँुदै मनाङ–मुस्ताङ जोड्ने पक्की पुल २०७६ साल कात्तिक २३ गते सम्पन्न भई केही समयपछि सञ्चालनमा आएको थियो । पुल सञ्चालन हुनुपुर्व दुवैतर्फ व्यवस्थित ग्याबिन पर्खाल हाल्न खोज्दा बालुवा उत्खनन् गर्ने साइटमा स्थानीयले विरोध गरेपछि पर्खाल हालिएन । तर आजभोलि दर्जनौं स्थानीय दैनिक पुललाई नै क्षति हुने गरी बालुवा उत्खनन् गर्न थालेपछि सडक डिभिजन जुम्लाले चिन्ता व्यक्त गरेको छ भने पुल जोखिममा पर्दासमेत बालुवा उत्खनन् रोक्न प्रशासन मुकदर्शक बनेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय देवेन्द्र बुढाले भने, “दैनिक पानीको बहाब बढ्दै छ । नदी कटान पनि बढ्दै छ भने स्थानीयले पुलमुनि तिरै बालुवा उत्खनन् गरिरहेका छन् । राज्यको करोडौ बजेट खर्चर निर्माण गरिएको पुल मनाङ–मुस्ताङ जाने सडक निर्माण नहुँदै नभत्किएला भन्न सकिँदैन । प्रशासनले छिट्टै नियमन गर्नुपर्छ ।”


यता जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पक्की पुल नै जोखिममा पर्ने गरी बालुवा उत्खनन् भइरहेको सुनिएको छ बेलैमा रोक्न संयन्त्र परिचालन गर्नुपर्ने बताए । निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागार्इंले पुललाई नै जोखिम हुनेगरी जथाभावी रूपमा भइरहेको बालुवा उत्खनन्लाई रोक्न पहिलो चरण प्रहरी पठाएर सम्झाइने र नमाने औपचारिक निर्णय गरेर रोकिने बताए ।

यसरी निर्माण हुँदै छ मनाङ–मुस्ताङ जोड्ने सडक
जुम्लामा हुँदै मनाङ–मुस्ताङ जोड्ने जुम्ला खण्डको करिब ४४ किलोमिटर सडक जुम्ला सडक डिभिजनले निर्माण गर्दैछ । जसअन्तर्गत हालसम्म डोल्पा सिमानादेखि जुम्लातर्फको १० किलोमिटर सडक निर्माण तथा स्तरवृद्धिको काम भइरहेको छ भने पाँच किलोमिटर जुम्लादेखि डोल्पा–मनाङ–मुस्ताङतर्फको सडक निर्माण भइरहेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले भने, “जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्न जुम्ला खण्डमा ४४ किमि निर्माण गरी डोल्पाको सीमा क्षेत्र मौरी लेकसम्म पु¥याइने छ । जुम्ला–मनाङ–मुस्ताङ जोड्ने सडकको ४४ किमिमध्ये १५ किमि निर्माणको जिम्मा पूर्वाधार कार्यालयले पनि गरेको छ ।”
चालू आवमा सडक डिभिजन जुुम्लाले जुम्ला–मनाङ–मुस्ताङ सडकको १५ किमि सडक ग्राभेल गर्ने भएको छ । जसका लागि २० करोड बजेटसमेत विनियोजन भएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार जुम्ला खण्डको ४४ किमि सडक निर्माण डोल्पाको सिमाना मौरी लेकसम्म पुग्ने छ । भने त्यसपछि मनाङ–मुस्ताङतर्फ रुकुम सडक डिभिजन चौरजहारीले निर्माण गर्नेछ । जसमा चालू आवमा सडक डिभिजन रुकुम चौरजहारीलाई संघीय सरकारबाट पाँच करोड विनियोजन भएको छ ।
सडक डिभिजन रुकुमले बागलुङ जिल्लाको सिमानासम्म निर्माण गर्नेछ भने बागलुङ जिल्लाले सिधै मनाङ–मुस्ताङ जोड्ने गरी सडक निर्माण गर्ने सडक विभागको योजना रहेको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले बताए । बागलुङ हुँदै मनाङ–मुस्ताङ सडक निर्माण तथा स्तरवृद्धिका लागि बागलुङ सडक डिभिजनलाई चालू आवमा १० करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्