आगामी वर्ष नेपालमा ‘बहुराष्ट्रिय सैनिक तालिम’ «

आगामी वर्ष नेपालमा ‘बहुराष्ट्रिय सैनिक तालिम’

नेपाली सेना र अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डको संयुक्त
आयोजनामा बहुराष्ट्रिय सेनाबीच संयुक्त सैनिक तालिम हुन लागेको हो : नेपाली सेना

तालिम केन्द्रलाई राष्ट्रसंघको ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन पहल

नेपालमा बहुराष्ट्रिय सेनाबीच संयुक्त सैनिक तालिम आयोजना हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा आगामी वर्ष ३ दर्जनभन्दा बढी मुलुकका सेनाबीच संयुक्त सैनिक तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम सञ्चालनमा आवश्यक पर्ने आर्थिक सहयोगबारे अमेरिकी सैन्य अधिकारीसँग नेपाली सेनाका अधिकारीले पटकपटक छलफल समेत गरिसकेका छन् । तालिम काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजना गरिनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले बहुराष्ट्रिय सेनाको संयुक्त सैन्य तालिम ‘अभ्यास शान्तिप्रयास ४’ आयोजना गर्न तयारी भइरहेको जानकारी दिए । यद्यपि, मिति भने यकिन भई नसकेको उनले स्पष्ट पारे ।
‘अभ्यास शान्ति प्रयास’ नाम दिइएको यो तालिम यसअघि सेनाले ३ पटक आयोजना गरिसकेको छ । यसअघि वि.सं. २०५६, २०६९ र २०७३ मा क्रमशः अभ्यास शान्ति प्रयास तालिम आयोजना गसिकेको छ । २०६९ र २०७३ मा भएका तालिममा क्रमशः २३ र २८ देशका सेना सहभागी थिए । आगामी वर्ष करिब ३ दर्जन मुलुक तालिममा सहभागी हुने सेनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय तालिम सञ्चालनसँगै परराष्ट्र नीति र सैनिक कूटनीति विस्तारमा समेत सहयोग पुग्ने सेनाले जनाएको छ । बहुराष्ट्रिय सेनाबीच संयुक्त तालिम आयोजनाले वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रलाई राष्ट्रसंघको ‘सेन्टर अफ एक्सिलेन्स’ (सीओई) बनाउन पनि मद्दत पुग्ने सेनाको भनाइ छ ।
सीओई बनाउनकै लागि सेनाले तालिम केन्द्रको भौतिक पूर्वाधारदेखि तालिम-कोर्सको पनि स्तरोन्नति कार्य अघि बढाइसकेको छ । “संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ मुलुक अन्तर्गत बहुराष्ट्रिय सेना सहभागी सैनिक तालिम यसअघि ३ पटकसम्म हामीले आयोजना गरिसकेका छौं,” सैनिक प्रवक्ता ढकालले भने, “त्यसैको निरन्तरता स्वरुप ‘अभ्यास शान्तिप्रयास–४’ सञ्चालन गर्ने तयारी हो ।”
राष्ट्रसंघ र तलिमसम्बन्धी अन्य स्टेकहोल्डरबीच छलफल र परामर्श गरेर तालिम सञ्चालनको मिति तय गरिने प्रवक्ता ढकालले जानकारी दिए । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत तैनाथ मुलुकका सेनाबीच आपसी सहकार्य, समन्वय, सीप आदानप्रदान तथा शान्ति मिसनमा तोकिएको जिम्मेवारी प्रभावकारी बढाउने उद्देश्यसहित बहुराष्ट्रिय सैनिक तालिम आयोजना गर्न लागिएको प्रवक्ता ढकालले स्पष्ट पारे ।
तालिममा भारत, चीन, पाकिस्तान, बंगलादेश, बेलायत, अमेरिकासहित एसिया, अफ्रिका, अमेरिका, युरोपलगायत महादेश अन्तर्गत रहेका ३ दर्जन भन्दा बढी मुलुकका सेनाको सहभागिता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्