न्यादी हाइड्रोपावरद्वारा जिल्लाबासीका लागि आईपीओ निष्कासन «

न्यादी हाइड्रोपावरद्वारा जिल्लाबासीका लागि आईपीओ निष्कासन

लमजुङमा निर्माणसम्पन्न ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि आईपीओ निष्कासन गरेको छ । बुटवलपावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावरलाई धितोपत्र बोर्डले अनुमतिदि एसँगै भदौ १ देखि बिक्री हुनेगरी आईपीओ निष्कासन गरेको हो ।
यसअघि नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो । न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएकोमा पहिलो चरणमा जिल्लाबासीका लागि १५ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र र जिल्लाबासीका लागि फरक फरक प्राथमिक सेयर निष्काशन गरेको जनाएको छ । आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख र जिल्लाबासीका लागि थप १० लाख कित्ता सेयर निष्काशन गरेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । कम्पनीले दोश्रो चरणमा देशभरका सर्वसाधारणको लागि पनि प्राथमिक सेयर निष्काशन गर्ने जनाएको छ ।
सेयर बिक्रीका लागि कम्पनीले ग्लाबल आईएमई क्यापिटललाई प्रबन्धक र एनएमबि क्यापिटललाई सह–प्रबन्धकको जिम्मा दिएको छ । २०७३ चैतबाट मस्र्याङदी गाउँपालिका–६, न्यादी खोलामा निर्माण सुरु भएको सो आयोजनामा केही साताअघि मात्रै निर्माण सम्पन्न भएको हो । आयोजनाको निर्माण कार्य सकिएपनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन गर्न पाएको छैन । प्रसारण लाइनसहित सवस्टेशनसमेत निर्माणाधिन रहेकाले केही महिनाभित्रै विद्युत् उत्पादन गर्ने तयारीमा रहेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको हो । प्रतिमेगावाट २० करोड ३९ लाख २५ हजार एक सय ६८ रुपैयाँ ५० पैसा लागत रहेको सो आयोजना कुल ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँको लागतमा बनेको हो । आयोजनाले २०६९ फागुनदेखि २१०४ फागुनसम्म विद्युत् उत्पादनको अनुमति पाएको भएपनि विवरणपत्र स्वीकृत मितिदेखि अझै २७ वर्ष अनुमतिपत्र बहाल रहने आयोजना प्रमुख उत्तम आमात्यले बताए ।

प्रतिक्रिया दिनुहोस्