‘मेलम्चीका बाढी पीडितलाई तत्काल राहत देऊ’ «

‘मेलम्चीका बाढी पीडितलाई तत्काल राहत देऊ’

मंगलबारको बाढीले ध्वस्त बनेको सिन्धुपाल्चोकको हेलम्बु गाउ“पालिकाको मुख्य बजारक्षेत्र र ध्वस्त सडक । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोडने करिब ८ किलोमिटर सडकको सिमकुना, तालाराङ ,चनौटे, किउल,तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा छ । तस्विर : अनिश तिवारी/कान्तिपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताले बाढीबाट विस्थापित भएकालाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका छन् । बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत्, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भने, “पुल, बाटोघाटोलगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनु प¥यो । विस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुप¥यो । क्षति भएका मानिसलाई क्षतिपूर्तिको व्यवस्था गर्नु प¥यो । त्यो मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।”
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्