वन्यजन्तु संरक्षणका लागि सिमसार क्षेत्र

यस धरतीमा रहेका विभिन्न तत्वमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरूमा प्रभाव पर्छ । पर्यावरणमा भइरहेको असन्तुलनले मानवलगायत विभिन्न प्राणीको क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ । तसर्थ भविष्यमा हुने वातावरणीय विनाशले पृथ्वीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानवजातिको अस्तित्व नै सङ्कटमा रहनेछ ।
पर्यावरण सन्तुलनका लागि सिमसारले महत्वपूर्ण भूमिका खेल्छ । विश्व संरक्षण संघ नेपालद्वारा प्रकाशित एक तथ्याङ्कअनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमालमा र पहाडमा अवस्थित छन् । यी सिमसारहरूमा ८० प्रजातिका घस्रने वन्यजन्तुहरू बसोबास गर्छन् । त्यसैले सिमसारको संरक्षण गर्न सके यी वन्यजन्तुहरूको पनि संरक्षण गर्न सकिनेछ ।
साधारणतया सिमसार भनेको एक रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । यसको मुख्य दुई विशेषता भनेको पानी र जमिन नै हो ।
सिमसारलाई सबैभन्दा बढी उत्पादनशील परिस्थितिकीय प्रणाली मानिन्छ । यसले भूक्षय न्यूनीकरण, पानी शुद्धीकरण एवं भण्डारण, बाढीको पानी सङ्कलन एवं रोकथाम र खोलाको पानीको बहाव नियन्त्रण गर्ने काममा महत्वपूर्ण भूमिका खेल्छ ।
सिमसारले वातावरण सन्तुलन गर्ने काममा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसलाई जोगाइराख्न वनजङ्गलले महत्वपूर्ण भूमिका खेल्छ । तर, दुःखको कुरा के छ भने हाल नेपालको सबैभन्दा बढी वनविनाश र अतिक्रमण भएको छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र यहाँ झन्डै ९० हजार हेक्टर वनक्षेत्र अतिक्रमित भएको छ । यही कारणले यहाँको सिमसारको लोप हुन गई केही वन्यजन्तुहरू बासस्थानको अभावमा सङ्कटमा पारेका छन् ।
यथार्थतः विश्वमा दिन–प्रतिदिन बढ्दै गएको वातावरण विनाशका कारण वन्यजन्तु संरक्षणमा विभिन्न चुनौतीहरू थपिएका छन् । यसका लागि विभिन्न देशहरूमा प्रयासहरू जारी छन् । परन्तु बढ्दो जनसंख्याको कारण वातावरणमा नकारात्मक प्रभाव परेकाले धेरैजसो देशमा वन्यजन्तु संरक्षणको काम गर्न सहज छैन ।
वन्यजन्तु संरक्षणमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । तर, वातावरण विनाशका कारण यहाँको सिमसार क्षेत्रको संख्या दिन–प्रतिदिन घटिरहेको छ ।
वास्तवमा यहाँका सिमसार कुनै खेत, कतै घडेरी र कतै माछापालनमा सीमित छन् । वास्तवमा अत्यधिक चरन गराउने, जडीबुटी सङ्कलन गर्ने र पानीको अधिकतम प्रयोग गर्नाले यहाँका धेरै सिमसारको दोहन भएको छ ।
दिन–प्रतिदिन बढ्दै गएको प्रदूषणले यहाँका सिमसार क्षतिग्रस्त छन् । यहाँका सिमसारको विभिन्न प्रयोजन हुन थालेपछि जैविक विविधतामा ह्रास आउन थालेको छ । योबाहेक मिचाहा प्रवृत्तिले यहाँ विद्यमान सिमसार क्षेत्रमा गम्भीर सङ्कट देखिएको छ ।
भूमि अतिक्रमणका कारण यहाँका केही सिमसार क्षेत्रहरू मासिन थालेका छन् । प्रत्येक वर्ष बढ्दै गएको भूक्षय सिमसार संरक्षणका लागि बाधक साबित भएको छ । योबाहेक प्रत्येक वर्ष आउने बाढीपहिरोले केही सिमसार क्षेत्रको विनाश भएकाले यहाँका वन्यजन्तुहरू बासस्थानको अभावमा असुरक्षित छन् । यही कारणले समयमा नै यहाँका वन्यजन्तुको संरक्षणका लागि पर्यावरणको सुधार गरी सिमसारको पनि संरक्षण गर्नुपर्छ ।