Logo

मापदण्डअनुसार क्रियाशील विवाद समाधान गर्न पौडेल समूहको प्रस्ताव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो ।
‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। पार्टीको वैधानिकता संकटमा छ । त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘अहिले देशव्यापी रूपमा क्रियाशील सदस्यतामा विवाद देखिएको छ । यो सबैभन्दा ठूलो समस्या हो । केन्द्रीय समितिले यसअघि विवादित ठाँउमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यलाई आधार मानेर अघि बढ्ने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन गरेर अघि जानुपर्ने निष्कर्ष निकालेका छौं ।’
पार्टीले बनाएको क्रियाशील छानबिन समितिले एकसाता अघि नै प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ। तर, प्रतिवेदनमा धुनषा–४, सर्लाही–२, अन्य दलबाट आएका नेता–कार्यकर्तासँगै सप्तरी र बाराको नयाँ तर्फका क्रियाशील विवाद मिल्न सकेको छैन । विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएपनि हालसम्म सहमति जुट्न सकेको छैन ।
क्रियाशील विवाद नमिल्दा असार ४ गते ल्याएको महाधिवेशनको कार्यतालिका समेत मिचिएको छ । तर, नयाँ कार्यतालिका हालसम्म आएको छैन। पौडेल समूहले तत्काल विवाद समधान गरेर नयाँ कार्यतालिका ल्याउन माग समेत गरेको छ ।
कतिपय ठाँउमा वडा सदस्यले नै क्रियाशील नपाएको र माथिल्लो तहबाट सदस्यता थप्ने काम भएको भन्दै असन्तुष्टि जनाएको छ । ‘कतिपय ठाँउमा वडा सदस्यले क्रियाशील सदस्यता नै पाएको छैन । माथिबाटै सदस्यता थप्ने काम भएको छ । यसरी भएका गतिविधि हामीलाई मान्य छैन,’ केसीले भने ।

प्रतिक्रिया दिनुहोस्