अपर चौंरीखोला आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने «

अपर चौंरीखोला आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने

अपर चौंरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड मुख्य कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
काभ्रे र सिन्धुपाल्चोकको सीमामा रहेको चौंरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अर्ब १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका हुन् ।
वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए । उनले आयोजना सम्बन्धी कम्पनीले गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिए । सिईओ श्रेष्ठले जलविद्युत् क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए । उनले आफूहरुले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउने समेत बताए ।
त्यसैगरी लगानीकर्ता अर्को बैंक कृषि विकास बैंकका सीईओ उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यावसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्