Logo

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती हस्तान्तरण

कुमारी बैंकले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी सञ्चालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको हो ।
उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको उदघाटन गरेका छन् । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनालले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने बताए । उनले ट्राफिक प्रहरीसँग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको धन्यवाद ज्ञापन गर्दै यस ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा काठमाडौ महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस्