लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण «

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरे । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँड्ने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको समेत स्पष्ट पारे । उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए । “यो संविधानभन्दा माथि हामी कोही पनि छैनौं । म यहाँ आएको छु । यो संविधानले निर्दिष्ट गरेको विषयहरूभन्दा बाहिर जाने अधिकार मलाई छैन ।” नवनियुक्त प्रदेश प्रमुख शेरचनले भने,“संविधानलाई आफू अनुकूल ब्याख्या गर्ने वा संविधानको मर्म र भावनाभन्दा फरक ढंगले हिँडने स्थितिहरू देशमा नआओस्, त्यस्तो देख्न नपरोस् भन्ने नेपाली जनताको चाहना छ ।”
प्रदेश प्रमुख शेरचनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरूसँग सहकार्य गरेर प्रदेशका जनताको हितमा काम गर्न भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफू वरिपरिकालाई हेर्ने काम जनता र राष्ट्रको हितविपरीत हुने भन्दै त्यस्तो काम आफूबाट नहुने बताए ।
शेरचनले गण्डकी प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई लुम्बिनी प्रदेश प्रमुखमा पुनः नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्