Logo

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो भने युथ फोर्सले त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने महासचिव पोखरेलको आग्रह छ । युथ फोर्स भ्याली कमाण्डको शनिबार काठमाडौंमा घोषणा गर्दै उनले युथ फोर्स आतंकको स्रोत नभएको स्पष्ट पारे । उनले भने, “युथ फोर्स आतंकको स्रोत होइन् । तर, कोही आतंक सिर्जना गर्छ भने त्यसलाई जवाफ दिने शक्ति हो यो । हिंसाका पक्षपातीहरूलाई ठीक लगाउने शक्ति हो यो । हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानुनको शासनलाई मान्छौं । तर, मुलुकमा कानुनी शासनलाई खतम बनाउने कोसिस गरियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउने कोसीस गरियो भने अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजियो भने त्यसलाई रोक्न युथ फोर्स लाग्नुपर्छ ।”
कार्यक्रममा बोल्दै नेता महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा काम र राजनीतिक नियुक्त वर्तमान सरकारले खारेज गर्न खोजे युथ फोर्सले देशभर आगो बाल्ने चेतावनी दिनु भयो । उहाँले एमाले फुटाउन अध्यादेश ल्याउने तथा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए । “युथ फोर्स सरकार विरुद्ध खोलिएको संगठन होईन । तर केपी ओली सरकारले गरेका राम्रो काम खारेज गर्न खोज्यो भने त्यसका विरुद्ध यसले देशभर आगो बाल्नेछ । एमाले फुटाउने अध्यादेश ल्याए, भ्रष्टाचारीलाई संरक्षण गरे युथ फोर्सले सशक्त प्रतिकार गर्दछ । पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, फेल गराईयो । अहिले फेरी एमाले फुटाउन अध्यादेश ल्याउनु भयो भने देशभरी आगो बल्छ ।”
नेता बस्नेतले भ्रष्टचारीलाई संरक्षण गर्ने काम गरिए त्यसको सशक्त प्रतिकार हुने पनि बताए । उनले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषद्को संख्या बढाउन संविधान संशोधन गर्ने काम गर्ने सुनिएको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई युथ फोर्सले तह लगाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्