Logo

युनाइटेड मेवा खोलामा सिटिजन्स बैंकको अगुवाइमा ७ बैंकले लगानी गर्ने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण हुने ५० मेगावाट क्षमताको युनाइटेड मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा अन्य ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।
आयोजनामा सिटिजन्स बैंकसहित कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंक र सिभिल बैँकले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । ६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा ऋण लगानी गर्ने गरी प्रबद्र्धक कम्पनी एवम् बैँकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
परियोजनाको अनुमानित लागत ९ अर्ब रुपैयाँमा बैंकहरूले ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब, नेपाल एसबिआइ बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब, र सिभिल बैंकबाट ५० करोड लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।
निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली प्राधिकरणको कोसी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्