Logo

सत्ता गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको अध्यक्ष दाहालले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दैै उहाँले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेपनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भईरहेको उल्लेख गरे । उनले भने, “सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरुबीच कतै छिद्र छ कि ? कांग्रेस र कम्युनिष्ट भनाउन सकिने हो कि ? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान । एमसीसी अगाडि सारेर हुन्छ कि ? आईपीएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ ।”
अध्यक्ष दाहालले संसद् विघटनको विरुद्ध एकैठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण पनि सत्ता गठबन्धनलाई भत्काउने षड्यन्त्र भएको जिकीर गरे । “संसद विघटन विरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले,” उहाँले भन्नु भयो, “त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँ भित्र गम्भिर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो ।”
अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिएपनि कमजोर ठानि हाल्ने अवस्था नरहेको दावी गरे । उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौति रहेको उल्लेख गदै मन्त्रीहरुलाई लापरवाही गर्ने कुनै छुट नभएको स्पष्ट पारे । उनले भने, “लापरवाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन । साना साना भएपनि सकारात्मक काम हँुँदै जानु अनिवार्य छ । कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन लापरबाही गर्ने । यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नु गर्नेछ । हुुनत सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको सुरुवात गरेको छ । तर अब यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानुन र संविधानसम्मत ढंगले परास्त गदै अघि बढ्नुपर्ने हुन्छ ।”
अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री बन्न दवाव दिनेहरुले आफूलाई मानसिक तनाव बढाएको प्रतिक्रिया पनि दिए । मन्त्री बन्नका लागि पार्टी भित्रका हुलका हुल मान्छेले आफूलाई ४÷५ दिनयता आतंकित नैै बनाएको दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति भित्रिएको उल्लेख गर्दै त्यसले आजित बनाएको पनि बताए । पार्टी भित्र भए मन्त्री, नभए ठूलै राजनीतिक नियुक्ति गर्नुपर्ने नेता, कार्यकर्ताको मानसिकता रहेकाले समस्या रहेको पनि उहाँले स्मरण गराए । कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको जीवनशैलीलाई ग्रहण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्