भन्सार राजस्व संकलनमा वृद्धि

धनगढी-जिल्ला भन्सार कार्यालय कैलालीले कोरोना महामारीका बीचमा पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य भन्दा आठ प्रतिशत भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । अघिल्लो वर्ष कोरोना महामारीका कारण लक्ष्य भन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । भन्सार कार्यालय कैलालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-०७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ ।
सो आर्थिक वर्षमा भन्सार महसुल चार अर्ब ८० करोड १५ लाख ५४ हजार उठाउने लक्ष्य राखिएकोमा पाँच अर्ब ४८ करोड ७६ लाख १४ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तीन अर्ब सात करोड १९ लाख ५८ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब १२ करोड चार लाख ७३ हजार र अन्तशुल्क ३४ करोड ३८ लाख ५९ हजार संकलन गर्ने लक्ष्य राखिएकोमा २३ करोड ३३ लाख ४१ हजार रुपैयाँ असुल भएको छ । अन्त शुल्क भने लक्ष्य भन्दा झण्ड १० करोड रुपैयाँ कम असुल भएको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा छ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा चार अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ मात्रै संकलन भएको थियो । सो वर्ष कोरोना महामारीको पहिलो चरण चलेको र कडा लकडाउन गरिएकाले आयात पनि घटेको हुनाले लक्ष्य भन्दा कम राजस्व संकलन भएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । यस वर्ष कोरोनाको दोस्रो लहर चलेर लकडाउन भरिएको भएपनि आयात निर्यातलाई नरोकिएको हुनाले राजस्व संकलन बढेको जनाइएको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा पनि भन्सार कार्यालय कैलालीले राजस्व असुल गर्ने लक्ष्य पूरा गर्न सकेको थिएन । तथ्यांकअनुसार पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७४-०७५ मा पनि लक्ष्य भन्दा आठ प्रतिशत भन्दा बढी राजस्व संकलन गरेको थियो । तीन अर्ब ८७ करोड ९९ लाख ५१ हजार संकलन गर्ने लक्ष्य निर्धारण भएकोमा चार अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । विगत चार वर्षको तथ्यांक हेर्दा जिल्ला भन्सार कार्यालय कैलालीले चार वर्षमा राजस्व संकलनको लयमा फर्किएको देखिएको छ ।