Logo

सरकारले निजी क्षेत्रको हातमा हात राखेर अगाडि बढ्दा नेपालमा उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन सकिन्छ

निजी क्षेत्रको नेतृत्व सहज पुस्तान्तरण

नेपालको निजी क्षेत्रका प्रमुख संस्थाहरूमा हालै सहज रूपमा नेतृत्व हस्तान्तरण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ भने नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा पनि सहज रूपमा नै राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति बनेको धेरै भएको छैन । यसैगरी नेपाल उद्योग परिसंघमा पनि बुधबार सहज रूपमा नै नेतृत्व हस्तान्तरण भएको छ । विष्णु अग्रवालको नेतृत्वमा आएको नयाँ कार्यसमितिले नेपाल उद्योग परिसंघलाई मात्र नभएर नेपालको निजी क्षेत्रलाई नै अबका दिनमा डो¥याउने आशा गर्न सकिन्छ । यी तीनवटै संस्थामा सहज नेतृत्व हस्तान्तरण एउटा राम्रो पक्ष हो भने तीनैवटा संस्थाको नेतृत्व युवा पुस्ताको हातमा जानु अर्को सुन्दर पक्ष हो ।
स्थापनाको दृष्टिकोणले चेम्बर सबैभन्दा पुरानो संस्था हो भने सबैभन्दा कान्छो संस्थाका रूपमा परिसंघको पनि आफ्नै विशेषता छ । यस्तै नेपाल सरकारपछि मुलुकभर आफ्नै सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघको आफ्नै इतिहास छ । अझ सकारात्मक कुरा के हो भने यी तीनै संस्थाले पछिल्ला समय निजी क्षेत्रको समस्यामा साझा धारणा बनाउने मात्र होइन, साझा मुद्दामा सँगैसँगै हिँड्ने परिपाटी पनि सुरु गरेका छन् । यसबाट नेपालको भर्खर हुर्कंदो निजी क्षेत्रलाई सबल हुन मद्दत मिल्छ । संस्थागत रूपमा यी संस्थाहरूको उमेर फरक–फरक भए तापनि नेपालको निजी क्षेत्रको सक्रियता भने पछिल्ला केही दशकमा मात्र बढेको हो ।
त्यसैले नेपालको निजी क्षेत्र कमी–कमजोरीविहीन, पूर्ण एवं सबल छ भन्ने त होइन, तर अर्थतन्त्रमा आफ्नो प्रभुत्व राख्ने तथा मुलुकलाई समृद्धिको मार्गमा डो¥याउने कुरामा भने ठूलो योगदान गर्न सक्छ र गरिरहेको छ । तसर्थ, नेपालको निजी क्षेत्रलाई औद्योगिक वातावरण बनाउने कार्यमा सरकारले सहयोग गरेका खण्डमा अर्थतन्त्रलाई चलायमान बनाउन तथा रोजगारी सिर्जनामा ठूलो सहायक बन्नेछ । सरकारले आफैंले रोजगारी सिर्जना गर्ने लोकप्रिय तथा अव्यावहारिक नीतिनियम बनाएर रकम बाँड्नुको साटो निजी क्षेत्रलाई रोजगारी सिर्जनाको जिम्मा दिँदा सहज तथा कम लगानी पर्छ । सरकारले निजी क्षेत्रमैत्री वातावरण बनाएर, नीतिगत सहजीकरण गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दा बाँकी काम निजी क्षेत्र आफैंले गर्छ भन्ने प्रमाणित भइसकेको तथ्य पनि हो ।
यसै सन्दर्भमा नेपालको निजी क्षेत्रले प्राकृतिक प्रकोप तथा महामारीमा पनि सरकार तथा नागरिकलाई मद्दत गरेका धेरै उदाहरणहरू छन् । त्यसैले सरकारले हालको कोरोना कहरबाट पीडित निजी क्षेत्रलाई आर्थिक पुनरुत्थान प्याकेज ल्याएर सहजीकरण गर्ने हो भने निजी क्षेत्रले आयातलाई प्रतिस्थापन तथा मुलुकभित्रै रोजगारी सिर्जना गर्ने अठोट लिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघ दुवैले आ–आफ्नो कार्ययोजना बनाएरै मुलुकमा आयात प्रतिस्थापन गरी आन्तरिक रोजगारी वृद्धि गर्ने अभियान सुरु गरिसकेका छन् ।
नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल अभियानबाट वार्षिक डेढ लाख नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ भने औद्योगिक विकासका लागि उद्योग विभागमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, आउँदो पाँच वर्षमा निर्यात ४.६ अर्ब डलर पु¥याउने तथा कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्म २२ र सन् २०३० सम्म २५ प्रतिशत योगदान दिने उद्देश्यसहित अभियान अगाडि बढाएको छ । यस्तै, महासंघले पनि नेपालमा रोजगारी सिर्जना गर्ने कार्ययोजना बनाएर अगाडि बढेको छ । पछिल्ला वर्षहरूमा नेपाली उत्पादन निर्यात पनि हुन थालेका कारण नेपालभित्रै पनि उपभोक्ताहरूले नेपालमा उत्पादन हुने वस्तुहरूको उपभोगमा जोड दिए मुलुकको व्यापारघाटा कम गर्न सकिने छ । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी बनाउन निजी क्षेत्रले सरकारको साथ मागेको छ । तसर्थ, सरकारले निजी क्षेत्रको हातमा हात राखेर अगाडि बढ्दा नेपालमा उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्