सभामुख अग्निप्रसाद सापकोटा «

सभामुख अग्निप्रसाद सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताए ।
आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजनीतिक दलहरूबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत् राष्ट्रिय एकताको खाचो रहेको उनले बताए । उनले भने, ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दाखेरी फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नका लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ती सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत् राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यतः पार्टीहरूको भूमिका हुन्छ ।’
उनले बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधिसभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको सन्देश दिनुपर्ने पनि बताए । उनले भने, ‘बृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलोचाहिँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’
सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफुले इमान्दारितापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले संसद बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्