विशेष महाधिवेशनसम्म जान सकिन्छ : प्रवक्ता शर्मा «

विशेष महाधिवेशनसम्म जान सकिन्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको व्यवस्था विधानमै भएकाले आवश्यक पर्दा त्यहाँसम्म जान सकिने बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टीको विधानमा हुनसक्छ भनेको कुरालाई हुँदैन भनेर भन्न नमिल्ने भन्दै महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन पनि हुनसक्ने बताए ।
पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समीक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्ने उनको भनाइ छ । “केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं,” शर्माले भने, “कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छ ।”
शर्माले पार्टी पराजयको बारेमा गम्भिर समीक्षा गरिने र पार्टीलाई पुनर्जीवन दिलाउनको लागि अब बस्ने कार्यसमितिको बैठकले ठोस निर्णय लिने पनि बताए । कांग्रेस अब रुपान्तरण हुने उनको भनाइ छ ।
केही समयअघि आफूसहित ७ नेताले जारी गरेको विज्ञप्तिको भावनामा आफू अहिले पनि अडिग रहेको उनले प्रष्ट्याए । “प्रवक्ता हुनु अगाडि म जुन ठाउँमा उभिएको थिएँ, प्रवक्ता भइसकेपछि पनि म त्यहीँ छु,” उनले भने, “पहिला केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस् भन्ने ठाउँमा थिएँ । अहिले केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ भनेर जानकाी दिने ठाउँमा आइपुगें । त्यसबेला विशेष महाधिवेशन हुनुहुन्न भनें, अहिले मैले त्यसो भन्दिनँ । प्रवक्ताका रूपमा मैले पार्टीको विधानलाई पनि हेर्नुपर्छ र पार्टीको विधानले केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन सक्छ भन्छ ।”

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरिएको छैन
कांग्रेसप्रवक्ता शर्माले एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको बताए । “सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रूपमा दिनु उचित हुँदैन,” शर्माले भने, “नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ ।” उनले आधिकारिक रूपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । “हामी शुभकामना दिन्छौं, उहाँहरूबीच एकता होस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्