नेपाल–भारत रेलसेवा सम्झौताको नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा स्वागत «

नेपाल–भारत रेलसेवा सम्झौताको नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा स्वागत

नेपाल–भारत रेलसेवा सम्झौतामा संशोधन भएको भन्दै नेपाल–भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।
नेपाल र भारत दुई देशका अधिकारीबीच भर्चुअल रुपमा सम्पन्न उक्त सम्झौता संशोधन कार्य तथा लेटर अफ एक्स्चेन्जले आजको विद्यमान नेपाल–भारत रेलसेवा सम्झौता परिवर्तित विश्व व्यापारलगायत अन्य क्षेत्रीय सम्झौताहरु साफ्टा, बिमस्टेक तथा वर्तमान विश्व व्यापार परिवेश अनुकूल हुन नसकिरहेको कारण यसमा समय सापेक्ष परिमार्जन आवश्यक रहेको विषय र लगायत अन्य ३ दर्जन भन्दा बढी वाणिज्य, पारवहन र लजिष्टिक विषयहरुमा संघले १० वर्षदेखि नेपाल–भारत सचिवस्तरीय कमिटी (आईजिसी), सहसचिवस्तरीय कमिटी (आईजिएससी), लगायत नेपाल–भारत वाणिज्य सम्बन्धि दुईपक्षीय विभिन्न मञ्चमा उठाउँदै आएको संघले दावी गरेको छ ।
नेपाल भारत व्यापारलाई समयानुकुल मूल्य प्रतिस्पर्धी बनाउन नभई नहुने विषय पनि भएकोले यस सम्बन्धी सम्झौतामा संशोधन भई एलओई आदान प्रदान हुनु सुखद रहेको यस संघले जनाएको छ ।
दुई देशीय व्यापार तथा नेपालको तेश्रो मुलुक संगको आयात तथा निर्यात व्यापारका सिलसिलमा नेपाल लक्षित कार्गाेकोे ढुवानी तथा पारवहन सेवाका लागी हाल भारतीय कन्टेनर निगम लिमिटेडले मात्रै सेवा उपलब्ध गराइरहेकोमा संशोधित प्रावधान अनुसार अब नेपालले अन्य सरकारी तथा निजी भारतीय रेल सेवा तथा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौता संशोधन हुनु सकारात्मक भएको संघले जनाएको छ ।
यसबाट भारतमा रेल सेवाले उपलब्ध गराइरहेका सबै अनुमतिपत्र प्राप्त कार्गो ट्रेन अपरेटरहरुले नेपालको पारवहनका लागि हुने ढुवानी सेवा दिन सक्ने भएका छन् । साथै निजी सेवा प्रदायकहरुले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गरिने भएको छ । जसकारण अन्तर्राष्ट्रिय व्यापारमा सहज हुनुका साथै नेपालको कार्गो ढुवानी गर्ने रेल सेवा प्रदायक कम्पनीबीच प्रतिस्पर्धा हुँदा कुनै अमुक कम्पनीको एकाधिकार तोडिनुका साथै अन्य व्यापारीहरुले पनि प्रतिष्पर्धा गर्न सक्ने वातावरण बन्ने संघले जनाएको छ ।
हाल वीरगन्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेल सम्बद्ध पूर्वाधार तयार भएसँगै रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दू तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा बिस्तार हुँदै जाने व्यवस्था सकारात्मक रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्