पानी नपर्दा धान रोपाइँ हुन सकेन «

पानी नपर्दा धान रोपाइँ हुन सकेन

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ ।


बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानले धान रोपाइँ गर्न सुरू गरेका थिए । बाँकेका किसानले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन् । तर, असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाइँ रोक्नुपरेको छ । हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाइँ भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाइँँ गर्न बाँकी छ ।
त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाइँ नहुँदा किसानहरु चिन्तामा परेका छन् ।

बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत–खेतसम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाइँ गर्न बाध्य भएका छन् । एकातिर धान रोपाइँ गर्न सकेका छैनन् भने अर्कोतिर रोपाइँ गरेको खेतमा पानी नपाएर धान सुक्न थालेको किसान चेतराम सोनकारले बताए ।
छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । सिक्टा नहर भएपनि त्यसको अझैपनि पूर्णरुपमा निर्माण हुन सकेको छैन । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुँदै पनि धान रोपाइँ गर्न नसकेको किसानहरुको दुखेसो छ ।


मनसुन छिट्टै सुरू हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाइ छ । तर असार १५ लागेसँगै बाँकेका अधिकांश क्षेत्रमा पानी नपर्दा खेत सुख्खा भएका छन् । समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् । एक सातादेखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाइँ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्