Logo

भित्तामा चित्र कोर्न पाउनुपर्ने कलाकारहरूको माग

कलाकारहरूले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरूको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाइकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरूले चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरलाई निवेदन दिएका हुन् ।


दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत मेयरलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर, महानगरपालिकाले स्वच्छ, सफा सहर निर्माणको परिकल्पनाअनुसार सहरको सौन्दर्यमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो ।


कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारीविरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरूलाई थोरै भए पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफूहरूले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरी सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे ।
कलाकारहरूको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाभित्रका महŒवपूर्ण ठाउँहरूमा कुनै पनि काम गर्दाखेरि महानगरपालिकाबाट स्वीकृति र सहमति लिनुपर्ने बताए । उनले वडा कार्यालयसँग सहमति लिनुअघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताए ।


महानगरपालिका आफैंले पनि केही स्थानहरूमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै कलाकारहरूले बनाएको चित्रले दिनुपर्ने सन्देश तीन हप्तामै दिइसकेको विश्लेषणसाथ महानगरपालिकाले चित्र मेटेको उनले बताए ।
कलाकारहरूले ‘कलाको सहरमा कलाकै हत्या’, ‘सक्छस् सम्मान गर नत्र अपमान नगर’, ‘पुनस्र्थापना गर’ लगायतको प्लेकार्डसहित महानगरपालिकाअगाडि धर्ना पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्