धान दिवसको नाममा विकृति

धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । यसपटक पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइयो । धान दिवस कसरी मनाईन्छ त भन्दा केही परापूर्वकालमा हाम्रा अग्रजहरुले जानकारी दिएका छन् । धान रोप्ने दिन असार १५ नै कुर्नुपर्छ भन्ने थिएन मौसमले साथ दिए खेत भरी पानी जमे रोपारहरुलाई जानकारी गराएर फलानोको दिनमा धान रोप्ने भने पछि सवै रोपारहरु एकजुट हुन्थे । अघिल्लो दिन देखि गाउँघरतिर हलो तथा कोदालीको प्रबन्ध गर्नुको साथै गोरुहरुलाई तयारी अवस्थामा राखिन्थ्यो । कसैकसैले बेलुका देखिनै खानेकुराहरु तयारी अवस्थामा राख्थे भने कसैले गित गाउनको लागि परम्परागत मादलको जोहो पनि गर्थे ।
र भोलिपल्ट धान रोप्ने दिन सवै रोपारहरु खेतमा आईपुग्थे । सवै जनाले एक आपसमा असारे मौलिक भाकामा गित गाएर धान रोप्थे । महिलाहरुलाई रोपार भन्थे भने पुरुष हरुलाई बाउसे गर्ने भन्थे । खेतमा जमेको पानीमा आली जस्तो भएको हुन्थ्यो र पुरुष बाउसेहरुले कोदालीको सहायताले खेतमा भएको ड्याङहरुलाई फुटाएर धान रोप्नको लागि माटो र पानीको अवस्था निकै नै समथर मिलेको बनाउँथे र रोपारहरुले सोही अनुसार धान रोप्दै आउँथे । बाउसे र रोपार बिच धान रोप्दै असारे गीतहरु गुन्जिन्थे । कोही ह..माले हह.. भन्थे, कोही पहिले पहिलेका किसानको रहर भन्ने गित गाउँथे छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गौडौंला र महिला रोपारहरुको त कुरै नगरौं अत्यन्तै रमाईलो असारे भाकामा गित गाउँथे । र सो क्रम चलिरहँदा धान रोपाइँ सकिएछि बनाएको खाजा दही चिउरा, अचार तरकारीलगाएत खानेकुराहरु खान्थे । धान रोपेको दिन दही चिउरा खानाले गती परिन्छ भन्ने पनि मान्यताले र चलनचल्ती रहेको थियो र आज सम्म पनि असार १५ को दिन दही चिउरा लगाएत खानेकुरा खाने गर्दछन् ।
र यसरी पहिलेको धान दिवसले आफ्नो छुट्ै मौलिकता, र परम्पराको जगेर्ना गरेको थियो । अहिले मानिसहरुलाई त्यसैको ठीक उल्टो परिभाषित भएको छ । धान दिवसको दिन हाम्रो मौलिकतालाई मासेर बिकृति तर्फ उन्मुख भएको देखिन्छ । हिलो छ्यापा छ्याप गर्ने, चाहना होस् या नहोस् जबरजस्ती हिलोमा पछार्ने, उच्छृङ्खल कामहरु गर्ने, गित गाउँदा बिभिन्न अपशब्दरुपी भाकामा गित गाउने, खानेकुराहरुमा मादक पदार्थ सेवन गर्ने जस्ता कृयाकलापहरुले गर्दा के बास्तबिक रुपमा नै धान दिवसले सार्थकता पाउँछ त ? अहिले त ति पुराना मौलिकता तथा परम्परा झल्कने गित या रोपाइँ देख्न पनि मुस्किल पर्छ । दिनानुदिन खेतीयोग्य जमिनको ह्रासका कारण धेरै कङ्किृटको घरहरुले गर्दा धान उमार्ने खेती पनि मासिँदै गईरहेको अवस्था छ । खेतियोग्य जमिन मासिनाले हामीले बर्षेनी चामल आयातको लागि विदेशी मुलुकसँग भर पर्नुपर्ने अवस्था आएको छ । र अर्को तिर हाम्रो मौलिकता र परम्परा लोप भई बर्षेनी धान दिवसको नाममा बिकृति र बिसंगतिले रुप लिँदै छ । हामीले सकेसम्म श्रोत र साधनले भ्याए सम्म हाम्रो मौलिकता तथा परम्पराहरुलाई बचाई राख्नु पर्दछ ।
धान दिवसको नाममा जथाभावी फोटो खिच्ने, बिकृति जन्य वातावरण सिर्जना गर्ने, लगायत कार्यले गर्दा दिनानुदिन मुलुकमा बिभिन्न चाडपर्वको नाममा समेत बिकृतिहरु देखिँदै आईरहेको तपाई हामीले नै मूल्याकङ्न गर्न सक्छौं । धान दिवस मात्र नभएर हाम्रो धेरै मौलिक तथा संकृतिक रितिरिवाज तथा चाडपर्वहरुको नाममा बिकृति नफैलियोस् । हाम्रो आफ्नै पुरानो चाडपर्व, रितिरिवाज तथा मौलिकताको जगेर्ना गरौं ।