ऊनी कपडा व्यवसाय संकटमा «

ऊनी कपडा व्यवसाय संकटमा

हुम्लामा पुख्र्याैली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बख्खु, राडिपाखी, लामा, दोच्छालगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो । तर अहिले आधुनिक कपडाको उत्पादन र प्रयोग बढ्दै गएपछि पुख्र्यौली पेशा संकटमा परेको हो । त्यसैगरी युवापुस्तामा राडीपाखीप्रतिको अरुचीले गर्दा पनि पेशा नै संकटमा परेको हो ।
भेडा बाख्रापालन व्यवसाय विस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थालेकाले यसको कमी भएको हो । ऊनीको कपडा परम्परागत तरीकाले बुनिँदा र आधुनिकतातर्फ यसलाई लिन नसकिनु यो व्यवसाय नफस्टाउनुको कारण भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए ।
पुरानै शैलीमा राडीपाखी बुन्नका लागि प्रविधिको अभाव तथा धेरै मेहनेत गर्नुपर्ने भएकाले ऊनीको कपडा बनाउन महिनौं समय लाग्ने गरेको छ । राडिपाखीको मूल्य पनि महँगो हुँदै गएकाले प्रयोगमा कमी आएको स्थानीय छिरिङडोका लामाले बताए ।
राडीपाखीबाट बनेका उत्पादन अहिले न्यून मात्रामा वृद्धवृद्धाले मात्र बुन्ने र उपभोग गर्नेको संख्या मात्र भेटिन्छ । पुरानो कपडाका रुपमा पहिचान बनेको राडीपाखी उद्योगलाई प्रवद्र्धन गर्न स्थानीय बासिन्दा सरकारी निकायसँग माग गर्न थालेका छन् । स्थानीय तह कार्यान्वयनमा आएपछि उद्योगले प्रोत्साहन पाउनेमा आशावादी रहेको भए पनि स्थानीय तहले राडीपाखी व्यवसायप्रति ध्यान नदिएको स्थानीयको आरोप छ । तर पछिल्लो पुस्तामाझ यो पेसा झन्झटिलो र समयको लगानी बढी हुने अनि मूल्य कम पाइनुले यो पेशा लोप हुने अवस्थामा पुगेको छ ।
जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिने राडीपाखी स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । मेला पर्व, विवाह, बाथ रोगीका लागि उत्तम मानिएको राडीपाखी ३ हजार देखि १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । राडी पाखी ब्यवसायलाई प्रवद्र्धन गर्न गाउँपालिकाले अािर्थक र प्राविधिक सहयोग गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया दिनुहोस्