ओली प्रवृत्ति देशका लागि सबैभन्दा घातक : गठबन्धन «

ओली प्रवृत्ति देशका लागि सबैभन्दा घातक : गठबन्धन

काठमाडौँ, १६ असार : नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (माधव–झलनाथ समूह)लगायत पाँच दलको बुधबार संघीय संसद भवन बानेश्वरमा नागरिक समाज तथा मानवअधिकारकर्मीहरुका प्रतिनिधिहरुसँग भएको छलफलमा सहभागी नेताहरु । तस्वीर : रत्न ७नतसेष्ठ, रासस ।


विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र,राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताए । अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि ५ दलिय गठबन्धन बनेको स्पष्ट पारे । उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे । उनले भने, “लोकतन्त्र, राष्ट्र, संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौं ।”


राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल बिर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरु उस्तै नभएको दाबी गरे । उनले शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समय सम्म आफूले गरेको योगदान तथा सम्झौताहरुको फेयरिस्त राख्दै ती काममा लचिलो हुनु गल्ति थियो भनी प्रश्न गरे ।
कम्युनिष्ट पार्टी एकिकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी उनले गरे ।

उनले विश्वभरका कम्युनिष्ट पार्टीहरुमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिईरहेको दाबी गरे । कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताए ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताए । मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गरे । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दे उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए ।
राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उनले गरे । ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरुको मूल एजेण्डा भएको भन्दै उनले आफूले त्यससवालमा मूल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि जनाए ।


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताए । विगतदेखि वर्तमान सम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको उनको तर्क थियो । प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने बताए । वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उनले जोड दिए । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्