बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्द हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ ।
प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ । प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो एपले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी उपभोक्तालाई लाइट काटिनु अगाडि नै दिनेछ ।
हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको सो एप्लिकेसन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सकिन्छ । एप्लिकेसनमा ग्राहकले आफ्नो नाम र जन्ममिति सेटिङ गरेपछि एक्टीभ हुन्छ । ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ । एपमा नो लाइट सेवाका नम्बरसमेत उपलब्ध छ भने उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत देशैभरीका वितरण केन्द्रहरुको विवरणहरु पनि एप्लिेकसनमा छन् ।
एप्लिकेसनमार्फत् नेपाल इन्भेस्टमेन्ट बैंक र ई–सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ भने एपबाटै गुनासो वा सूचना भए पनि लिन वा दिन सकिनेछ । प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत जानकारी पाइने भएको छ । प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत एपमा रहने कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
उपभोक्तालाई बढीभन्दा बढी सहज र सरल रुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा थप सेवा थप्दै लैजाने योजनामा प्राधिकरण रहेको छ । प्राधिकरणले एप्लिकेसनलाई थप परिमार्जन गरेर कति दिनमा लाइन काटिँदैछ भन्ने कुराको जानकारी समेत दिने योजनामा छ । के कति परिमाणमा विद्युत् महसुल उठ्यो र कति दिनमा तिर्नुपर्छ भन्ने विषयको समेत जानकारी एपमै दिइनेछ ।