बृहत्तर कम्युनिष्ट आन्दोलनका लागि साथ «

बृहत्तर कम्युनिष्ट आन्दोलनका लागि साथ

नेकपा(एमाले)का नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताए ।


नेता थापाले सोमबार आफूहरू प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरे । उनले आफूहरू बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे । ओली र प्रचण्डले सुुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रूपमा गल्ती नगरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन ग¥यौं ।


त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौं र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौं जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुुरु गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौं । त्यो प्रक्रियालाई पूरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौं । हामी उपयोग भएको होइन् । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौं । हामी ठीक ठाउँमा छौं । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौं ।’


नेता थापाले नेकपा(एमाले)को एकतालाई आफुले जायज र न्यायिक ठान्ने बताए । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उनले बताए । एमाले एकताले आफूहरूलाई फरक नपर्ने बताउँदै झनै ठूलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडी बड्ने र डिवेटमा भाग लिन आफुहरू तयार रहेको पनि उनले बताए । उनले भने, ‘पूर्वएमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौं । उहाँहरू आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समुहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरू कम्युनिष्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन । ठूलो डिवेटबाट फेरी कम्युनिष्ट आन्दोलन खगाडी बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौं ।’


नेता थापाले आफूहरू पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभई नयाँ ध्रुवीकरण आवश्यक रहेको उल्लेख गरे । पूर्वएमालेको एकतामा पूर्व माओवादीको समुह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुने भएकाले यसैको ध्रवीकरणमा उनले जोड दिए । उनले भने, ‘पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरणचाहिँ जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाट सुरु गर्ने भन्दाखेरी ठुलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उनले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुवीकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’


उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सुझाव दिएको उनले बताए । सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भए पनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरूको असन्तुष्टि नरहेको उनले उल्लेख गरे । तर, प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उहाँले बताए । उनले भने, ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रूपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौं । प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौं भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटार कन्फ्युज छन्, उनीहरूले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’
नेता थापाले एमालेभित्र पूर्वमाओवादीहरूले पूर्व समूहका रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताउनुभयो । उहाँले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्