सडक नहुँदा हेलम्बुमा राहत लैजान समस्या

असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहत लैजान समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाउँ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो ।
बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । सो स्थानमा आइतबारबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाउँपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन । सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाउँपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ । चनौटेमा रहेको रातोपुल पनि जोखिमयुक्त भए पनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनःस्थापनाको काममा सजिलो हुने बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनका लागि भन्दै एकद्वार निति लागू गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामग्री मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा गोदाम गरिएको छ । सो स्थानमा गोदाम गरिएको सामग्री पीडितको हातसम्म पुग्न सकेको छैन । हेलम्बु गाउँपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ ।
हेलम्बुमा भने हेलिकोप्टरबाट पु¥याईएका सामग्रीको मात्रै भर पर्नुपर्दा पीडितले आधारभूत आवश्यकताका सामग्रीसमेत पाउन सकेका छैनन् ।
हेलम्बु गाउँपालिकाभित्रका छवटा झोलुंगे पुल र तीनवटा पक्की पुल पूर्ण क्षति भएको छ । बाँकी रहेको एउटा रातोपुलसमेत उच्च जोखिममा छ । बाढीले हेलम्बु गाउँपालिका सडक र सञ्चार सञ्जालबाट टाढिएको छ ।
नेपाल टेलिकमको मोबाइल सेवा बन्दजस्तै छ भने एनसेल चलाउने ग्राहकले समेत मोबाइल चार्ज गर्न पाएका छैनन् । विद्युत् आपूर्ति बन्द भएकाले सोलार बत्ती अहिले त्यहाँको प्रमख आवश्यकता भएको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत केही टेन्ट लगेर टाँगेको भए पनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।
मेलम्चीमा राहतको थुप्रो लागे पनि हेलम्बुमा भने आधारभूत आवस्यकता समेत पूरा हुन सकेको छैन ।
बाढीले अझै कटान गर्न छाडेको छैन । यस्तो अवस्थामा सडकमार्ग सुचारु गर्न विभिन्न प्रविधिको प्रयोग गरी बस्तीलाई सडक सञ्जालसँग जोडिराख्न सकेमात्र पीडितको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ ।