Logo

बाँझो जमिनमा तितेपाती खेती



स्याङ्जामा धार्मिक कार्य र औषधीका रूपमा प्रयोग हुने तितेपातीको व्यावसायिक खेती थालिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको महत्व थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जाकी एक महिलाले व्यावसायिक रुपले खेती गर्न थालेकी हुन् ।


पुतलीबजार नगरपालिका १४ आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनिज जातको तितेपाती खेतबारीमा लगाउन सुरू गरेकी छन् । लामो सयमदेखिको लकडाउनले उनले सञ्चालन गरेको हस्तकला व्यवासय बन्द भएपछि लकडाउनलाई सदुपयोग गर्दै बाँझो जमिनमा तितेपाती खेती गरेकी छन् ।


बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिनादेखि बाँझो जमिनमा तितेपाती खेती गरेको बताइन् । महिला उद्यमीसमेत रहेकी क्षेत्रीले लगाएको बालीनाली बाँदरले नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको बताइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितोपाती खेतीलाई व्यावसायिक बनाउने अभियानमा जुटेकी छन् ।


“बाँदरको समस्याले खेतबारी बाँझो राख्न बाध्य थियौं” उनले भनिन्, “तितेपाती बिक्री गर्ने जिम्मेवारी काठमाडौस्थित कम्पनीले लिएको छ ।” खेतबारी बाँझो राख्नुभन्दा यसबाट आम्दानी गर्न सकिन्छ भनेर तितेपाती खेती गर्न थालेको उनले बताइन् ।
क्षेत्रीले अहिले १० रोपनी जमिनमा तितेपाती लगाउने गरेकी छन् ।

आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुने तितेपाती दुई महिनामा काट्न मिल्ने क्षेत्रीको भनाइ छ । कस्मेटिक सामग्री बनाउन र अन्य रोगीले सेवन गर्दासमेत प्रभावकारी हुने उनले बताइन् । यहाँ उत्पादन भएको तितेपाती जापानसमेत निर्यात गरिँदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताइन् । सुकाएको तितेपाती ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्