सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा काउन्सिलको अन्तरक्रिया «

सोसल मिडिया व्यवस्थित गर्ने सम्बन्धमा काउन्सिलको अन्तरक्रिया

‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा बिहीबार भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताए । उनले सोसल मिडियाबाट आउने अडियो÷भिडियोसामग्रीहरूमा पत्रकारिताभए/नभएकोबारे बुझ्न छलफल राखिएको बताए । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको उनको भनाइ थियो । अध्यक्ष बस्नेतले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्यसहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासङ्घ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताए । उनले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणबाट मात्रै पत्रकारिता गर्नुपर्ने भन्दै सम्पादन बिना राखिएका सामग्री पत्रकारिताभित्र नपर्ने उल्लेख गरे ।

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिँदै आएका अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताए । मिडिया सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उनको भनाइ थियो ।

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासका लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताए । 

पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए । उनले  सोसल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताए । 

अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने, युट्युबलाई सङ्गठित गर्नु पर्ने, चौंथो पुस्ताको पत्रकारितालाई सशक्त बनाउनुपर्ने लगायतका धारणा राखे ।

पत्रकार पवन पौडेलले सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने बताए ।
पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले काउन्सिलले मिडियालाई गर्ने कारबाहीसार्वजनिक गर्नुपर्ने बताए ।

कपुरबोट डटकमका सञ्चालक सन्तोष देउजाले युट्युबबाट हुने आम्दानीलाई वैधानिक गराएर करको दायरामा ल्याउनुपर्ने बताए । अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो÷भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे ।
अनलाइन टिभी पत्रकार सङ्का वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले कारबाहीमा परेका मिडियाको नाम सार्वजनिक गर्न नहुने धारणा राखे ।
कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने चक्रपथ डटकमका सम्पादक कविता अधिकारीको भनाइ थियो ।
पत्रकार केपी ढुङ्गानाले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै ४ वर्षको बालकलाई के सोध्ने, के नसोध्नेसम्मको ज्ञान नभई राखिने भिडियो, अनुमतिबेगर खिचिएको भिडियो, यौन्नजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पारे ।

डिजिटल मिडिया फाउन्डेसनका प्रवेश सुवेदीले समस्या हरेक क्षेत्रमा हुने काउन्सिलले सैद्घान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताए । उनले सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाटप्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्ष निकालिने बताए ।

कार्यक्रम सञ्चालन गर्नुहुँदै वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट ‘अनलाइन टिभी (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई व्यवस्थित गर्ने’ विषयमा गृहकार्य गर्न सहज हुने बताए ।

कार्यक्रममा नेपाल युट्युब पत्रकार सङ्घका सचिव मिलन सिंह, खबरप्रवाहका पत्रकार सुरेन कुँवर, अनलाइन टिभी सङ्घका उपाध्यक्ष कुशल खत्री, काउन्सिलका उप– प्रशासकीय अधिकृत रामशरण बोहरा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्